पाँच बर्ष देखि फलामे साँङला ले बाँधिएका प्रविणलाई उद्धार गराए इन्सेकले

65 Shares
सप्तरी, ५ असार । विगत पाँच बर्ष देखि फलामे साँङला (सिक्री) ले बाँधिएका २५ बर्षिय मनोरोगीलाई उद्धार गरिएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ७ भगवतपुरका प्रविणकुमार चौधरी मनोरोगबाट ग्रसित भएपछि उपचारको अभावमा उनको परिवारजनले बाहिर भाग्न नदिनका निमित्त फलामे साँङला (सिक्री) ले बाँधेर राखेको खवर मानव सेवाआश्रम जनकपुरधानले इन्सेक सप्तरीको पहलमा हिजो मंगलवार चौधरीलाई उद्धार गरेर जनकपुरधाम ल्याइएको हो ।
मानव सेवा आश्रमका सचिव सुमन बड्तौला, मधेश प्रदेश संयोजक विवेक महतो, सन्तोष थापा मगरको टोलीले मनोरोगबाट ग्रसित चौधरीलाई उद्धार गरेर जनकपुरधाम लगिएको इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले जानकारी दिए ।
चौधरीलाई फलामे साँङलाबाट मधेश प्रदेशका पूर्व मन्त्री महेश यादव र इन्सेक प्रतिनिधि पोखरेलले मुक्त गराए । उक्त अवसरम वन तथा वातावरण राज्यमन्त्री रन्जु कुमारी मण्डल खंग, सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, एसपी गजु सिद्दी ब्रजाचार्य, उप अनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, वडा अध्यक्ष गोपालप्रसाद चौधरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर मेदिनी प्रसाद साह, रासस प्रतिनिधि नानीमैया कटवाल, प्रदेश मानव अधिकार समूहकी अध्यक्ष देबीमाया भट्टराई, मानव अधिकार समूह शम्भुनाथका कोषाध्यक्ष शिवशंकर राम, इन्सेक सहजकर्ता अजय परियार लगायतको उपस्थितीमा चौधरीलाई उद्धार गरिएको थियो ।
इन्सेक सप्तरीको रिपोर्ट
मानसिक रोगका बिरामी चौधरीलाई उपचारको लागि अस्पताल लगिएको भए पनि मोटो रकमको जोहो गर्न नसक्दा पुनः अस्पताल लान नसकिएको चौधरीको आमा इश्वरी देबीले बताइन । इश्वरीले मनोरोगी छोरो गाउँ घरमा गएर उपद्रो मच्चाउने र छोरालाई समेत चोटपटक लाग्ने भएकोले बाध्य नचाहेर पनि विगत ५ वर्षदेखि सिक्रीले बाँधेर राख्नु परेको दुखेसो पोखिन ।
प्रविण १७ वर्षको हुँदा मानसिक रोगले गाँजेको र जेठो छोरा रबिन पनि वेपत्ता भएको उनले बताइन । कान्छो छोरा सन्तोष भने सानै उमेर देखि काठमाडांैमा ज्याला मजदुरी गर्दै आएका छन् । माहिलो छोरा मनोरोगी र जेठो छोरा वेपत्ता भएदेखि शोकमा डुबेका बुबा परशुराम चौधरीको २०७७ साल चैत २६ गते निधन भएपछि इश्वरी माथि विपती सवार भए स्थानीय सुनिल चौधरीले बताएको इन्सेकको रिपोर्टमा भनिएको छ । छोराहरुको शोकमा नै परशुरामको निधन भएपछि एकल भएकी इश्वरीलाई घर व्यवहार चलाउन समस्या परेको थियो ।
बाँधेकै स्थानमा शौच गर्ने प्रविणलाई आमाले नै नुहाउने, लुगा फेराउने, खाना खुवाउने गर्नुहुन्छ । छोराकै लागिबाँच्नु परेको इश्वरी छोराकै स्याहार गर्नुपर्दा बनीबुतो गर्न सम्म मुश्किल परेको छ । माया लागेर एक पटक प्रविणको सिक्री खोल्दा उनी भागेको र एक गाउँलेलाई लाठीले हिर्काएर घाइते बनाएपछी बाध्यभएर २४ सैं घण्टा बाँधेर राख्नु परेको थियो ।
सम्पतीको नाममा ३ धुरमा बनेको फुसको झुप्रो छ । सोही जग्गा पनि धितो राखेर गाउँकै एक बचत सहकारी संस्थाबाट इश्वरीले ऋण सापटी लिएकी छिन् ।  “इन्सेक प्रतिनिधिको घर गएर आग्रह गरेको केहीदिन पछि उहाँ आएर छोराको अवस्था हेरेर जानु भएको थियो, अहिले छोरालाई उपचार र स्याहारका लागि लैजानु भयो ।” इश्वरीदेबीले भनिन् –“सबैले राम्रो अस्पतालमा लैजान सुझाव दिएका हुन् तर, म सँग पैसा अभावमा उपचार गराउन असमर्थ भएकाले छोरालाई घरमै सिक्रीले बाँधेर राख्न बाध्य थिए ।”
औषधि र मायाको साटो नियमित सिक्रीमा बाँधेर राखिएकोले पनि प्रविणको मनोरोग जटिल बन्दै गएकोले तत्काल उपचार गराउन सके सुधार हुने भएकाले उद्धार गरिएको इन्सेक प्रतिनिधि पोखरेलले बताए ।

सम्बन्धित समाचार