टी–२० विश्वकपको पहिलो सुपर ८ मा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हराए

27 Shares
टी–२० विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हराएका छन् ।
टस हारेर पहिलो ब्याटिंग गरेका दक्षिण अफ्रिकाले जितका लागि प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य पछ्याउँदा अमेरिकाले ६ विकेटको क्षतिमा १ सय ७६ रन मात्र बनाउन सक्यो ।
अमेरिकाका लागि आन्द्रियस गोउसले शानदार ब्याटिङ गर्दै ४७ बलमा ८० रनको योगदान दिए पनि टोलीलाई जिताउन सकेनन् । उनले यस क्रममा ५ चौका र ५ छक्का प्रहार गरे ।
उनले हरमित सिंहसँग मिलेर टोलीका लागि छैटौँ विकेटमा ४३ बलमा ९१ रनको रेकर्ड साझेदारी गरे । सिंहले २२ बलमा ३८ रन जोडे । दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र १८ रन खर्चिए । केशव महाराज, एनरिच नोर्टजे र ताब्रियाज साम्सीले १–१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि ओपनर क्वीन्टन डी ककले सर्वाधिक ७४ रनको योगदान दिए । उनले मात्र ४० बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।
डी ककसँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका कप्तान ऐडन मार्क्रमले ३२ बलमा ४६ रन जोडे । उनले चार चौका र १ छक्का हिर्काए । हेनरिच क्लासनले २२ बलमा ३६ रन तथा ट्रिस्टन स्टब्सले १६ बलमा २० रन जोड्दै टोलीलाई विशाल योगफल बनाए ।
अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले २–२ विकेट लिए । नेत्रभाल्करले ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिए । सिंहले ४ ओभरमा २४ रन दिएका थिए ।

सम्बन्धित समाचार