रौतहटमा ट्राफिक सप्ताह सुरु

36 Shares

रौतहट, ६ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले साता व्यापी जनचेतना कार्यक्रम मार्फत ट्राफिक सप्ताह कार्यक्रम मनाउने अभियानको थालनी गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजनामा सदरमुकाम गौर स्थित नगरपालिकाको वीपी चौकबाट प्रभातफेरी निकालेर गौर नगरपालिकाको सभाकक्षमा पुगेर जनचेतनामुलक कार्यक्रममा परिणत भए ।
जनचेतना मुलुक कार्यक्रममा रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले सवारी साधन चलाउदा अपनाउनुपर्ने सावधानीको साथै चालक अनुमती पत्र, अनिवार्य रुपमा हेलमेटको प्रयोग गरेर सवारी ऐन नियम अनुसार सवारी साधन गुडाउने आग्रह गरिन् । उक्त कार्यक्रममा डिएसपी गिरीले देशका विभिन्न भागमा सवारी साधन गुडाउदा अपनाउनुपर्ने सावधानी एवं ऐनकानुनको बर्खिलाप गर्नेहरुलाई कानुनी कारवाही गरिने तथा चालकलाई हुने हानी नोक्सान सन्दर्भमा भिडियो दृष्य मार्फत जनचेतना अभिवृद्धि गराए ।
सो कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिकाको प्रमुख शम्भु साहले सवारी साधन गुडाउदा सवारी ऐनलाई बुझ्नु नितान्त जरुरी रहेको बताउदै यहाँ ट्राफिक नियम सुधारको पक्षमा आफूबाट हुने सबै सकारात्मक कार्यहरु पुरा गर्ने प्रतिबद्धता जनाए ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेश यादवले सवारी ऐन विपरित सवारी गुडाउदा हुने हानी नोक्सानीको जवाफदेहिता चालकले नै बेहोर्नु परेको हुँदा उक्त कुराहरु माथि विचार पुर्याएर मात्रै सवारी साधन गुडाउदा अनाहकमा हुने दुर्घटनाहरु न्यूनिकरण हुने बताए ।
रौतहट प्रहरीका एसपी दिलिप घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा यातायात कार्यालयका प्रतिनिधि, राष्ट्रिय अनुसन्धानका उप निर्देशक अभिनय सिंह, सशस्त्र प्रहरी, नेपाली सेना, संचारकर्मीहरु, तथा सदरमुकाम गौरका विभिन्न सामुदायिक विद्यालयका छात्रछाछात्राहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार