वैदेशिक रोजगार विभागलाई आईटी आर्मीद्धारा घेराउ

47 Shares

काठमाडौं, ७ असार । वैदेशिक रोजगारमा जाने युवायुवतीहरु संग ठगी गर्दै आएका वैदेशिक रोजगार विभागलाई आम जनता पार्टी निकट रहेका आईटी आर्मीले घेराउ गरेका छन् ।
बैदेशिक रोजगारको आडमा ठगी धन्धा चलाउदै आएका वैदेशिक रोजगार विभागमा कार्यरत भ्रष्ट अधिकारी तथा ठग मैनपावर र एजेन्टलाई कारवाहीको माग गर्दै शुक्रवार विभागको कार्यालयलाई आईटी आर्मीका नेता एवं कार्यकर्ताहरुले घेराउ गरेर प्रदर्शन गरेका हुन् ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा विभिन्न मागहरु राख्दै वैदेशिक रोजगार विभाग घेराउ गरियो । वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै विभाग घेराउ एवं धर्ना दिइएको छ ।
आईटी आर्मीका अध्यक्ष साहका अनुसार विदेश जाने कामदारहरु सँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्धार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री–भिसा फ्री–टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मैनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नु परेको बताए ।
यस अघि आईटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का साथै विभागलाई ज्ञापन पत्र समेत बुझाइपनि कुनै सुनवाई नहुँदा बाध्य भएर धर्ना प्रदर्शन घेराउ गर्नुपरेको अध्यक्ष साहले भने ।
‘लाखौं लाख युवासँग खर्बौैं रकम ठगी भइसकेको छ । ५, १० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’ साहले भने ।
संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि अहिलेको भगौडा दलाल वर्गको यो लुटकारी शासन सत्ताले युवाहरुलाई रोजगारीको अवसर दिन नसकेको तर देशभित्रको उद्योगहरुमा विदेशी कामदारहरुले अवसर पाइरहेको उनले बताए ।
उनले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डी मार्फत दुरुपयोग भइरहेको छ । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डी मार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनले गम्भीर आरोप लगाए । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनुपर्ने आईटी आर्मीले जोडदार रुपमा माग उठाएको छ ।
‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुको खुनपसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ’ उनले भने । असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्युलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरे । यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।
आईटी आर्मीका उपाध्यक्ष सुमन यादवले विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार तथा ठगी भइरहेको बताए । अहिले सम्म यी मुद्दामा कुनै राजनीतिक दलहरुले आवाज नउठाइदिएको हुनाले आफूहरु सशक्त रुपमा आवाज उठाउदै विभाग घेराउ गरेको उनले बताए ।
आईटी आर्मीका उपत्यका अध्यक्ष टाईसन लामाले नेपालमा सदियौंदेखि वैदेशिक रोगजारीमा पठाउने परम्परा चलिरहेको र कुनै न कुनै रुपमा यसमा नेताहरुको संलग्नता रहेको बताए । नेताहरुले मेनपावरको माध्यमबाट युवाहरुलाई लुटिरहेको उनले बताए ।

सम्बन्धित समाचार