बंगलादेशलाई ५० रनले हराउदै सेमिफाइनको यात्रा लगभग तय गरे भारत

41 Shares
सेन्टलुसिया, एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको शनिबार राति सम्पन्न भएको ‘सुपर–८’ चरणको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराएर सेमिफाइनलको यात्रा लगभग तय गरेका छन् ।
‘सुपर–८’ मा पहिलो अफगानिस्तान र गएराति बंगलादेशलाई हराउन सफल भएको छ भने जुन २४ अर्थात भोली अष्ट्रेलिया संग खेल्ने भएका हुन् र भारत जारी विश्वकपमा हालसम्म अपराजित हुन् ।
भारत र बंगलादेश ‘सुपर–८’ चरणको ‘समूह–१’ मा छन् । दुई खेलबाट चार अंक सहित भारत तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४६ रनमात्र बनाउन सक्यो ।
भारतको जितमा हार्दिक पाण्ड्याले अर्धशतकीय योगदान गरे । उनले केवल २७ बलमा तीन छक्का र चार चौकाको मद्दतले अविजित ५० रन बनाए । ओपनर विराट कोहलीले पनि ३७ रन बनाए । विराटले २८ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए ।
कप्तान रोहित शर्माले पनि टोलीको खातामा २३ रन थपे । ओपनर रोहितले मात्रै ११ बलमा एक छक्का र तीन चौका पनि प्रहार गरे । ओपनरको भूमिकामा ओर्लिएका विराट र रोहितले ३९ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका ऋषभ पन्तले पनि टोलीको खातामा ३६ रन थपेका थिए ।
विकेटकिपर ब्याट्सम्यान ऋषभले २४ बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान सूर्यकुमार यादब भने ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका शिवम् दुबेले ३४ रन बनाए । उनले २४ बलमा तीन छक्का पनि हिर्काए ।
बंगलादेशका बलर तान्जिम हसन सकिबले दुई विकेट लिए । रिसाद होसैनले पनि दुई विकेट हात पारे । सकिब अह हसनले पनि एक विकेट लिए । ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशका लागि कप्तान नजमुल होसैन सान्तोले सर्वाधिक ४० रन बनाए ।
कप्तान नजमुलले ३२ बलको सामना गरी तीन छक्का र एक चौका पनि हिर्काए । ओपनर तानजिद हसनले २९ रन जोडे । अर्का ओपनर ब्याट्सम्यान लिटन दास भने १३ रन बनाउँदै आउट भएका थिए । सकिब अल हसन पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् ।
यसैगरी बंगलादेशका लागि तल्लो क्रमका ब्याट्सम्यान रिसाद होसैनले १० बलमा तीन छक्का र एक चौकाको मद्दतले २४ रन बनाए । महमुदुल्लाहले पनि टोलीको खातामा १३ रन थपे ।
भारतीय बलर कुलदीप यादबले तीन विकेट लिए । उनले चार ओभरमा केवल १९ रन खर्चिए । जसप्रित बुमराह र अर्शदीप सिंहले दुई–दुई विकेट लिए । हार्दिक पाण्ड्याले पनि एक विकेट हात पारे ।

सम्बन्धित समाचार