आईसीसी टी–२० विश्वकप २०२४ माथि भारतको कब्जा

46 Shares
बार्बाडोस, एजेन्सी । आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत शनिवार राति सम्पन्न भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई हराउदै उपाधीमाथि भारतले कब्जा जमाएका छन् ।
रोहित शर्माको कप्तानीमा भारतले १३ बर्ष पछि आइसीसीको ठूलो उपाधी माथि कब्जा जमाउन सफल भएका हुन् । भारतले सन् २००७ मा पहिलो पटक टी २० विश्वकप उपाधि जितेको थियो ।
१७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सफल भए । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५२ रन बनाए पनि हारबाट जोगाउन सकेनन् ।
निकै रोमाञ्चक गेममा एक समय दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ३० रन चाहिएको थियो । १७ औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले हेनरिक क्लासेनलाई क्याच आउट गरेपछि भारतले खेलमा नाटकीय रुपमा फर्किएका थिए  । अन्तिम ६ बलमा १६ रन चाहिएको थियो । हार्दिक पान्ड्याको बलमा मिलरको सूर्यकुमार यादवबाट बाउन्ड्रीमा उत्कृष्ट क्याच आउट लिएपछि हारेको गेम जितमा बदलिएका थिए ।
ओपनर रिजा हेन्ड्रिक्स र कप्तान एडेन माक्ररम ४–४ रनमा आउट हुँदा दक्षिण अफ्रिका १२–२ को अवस्थामा थियो । तेस्रो विकेटका लागि टिस्टन स्टब्स र क्विन्टन डि ककले ३८ बलमा ५८ रनको साझेदारी गरेका थिए । स्पिनर अक्षर पटेलको बलमा स्वीप खेल्ने धुनमा स्टब्स २१ बलमा ३ चौका र १ छक्का सहित ३१ रनमा बोल्ड आउट भए ।
उनी आउट हुँदा दक्षिण अफ्रिका ८.५ ओभरमा ७०–३ को अवस्थामा थियो । भारतका जसप्रित बुमराहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्याले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले २ र अक्षर पटेलले १ विकेट लिए ।
त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । ओपनर विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७६ रन बनाएका थिए । कोहलीले ४८ बलमा अर्धशतक पूरा गरेका थिए । अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्का सहित सर्वाधिक ४७ रन बनाए ।
चौथो विकेटलाई कोहली र अक्षर पटेलले ५४ बलमा ७२ रनको साझेदारी गरेका थिए । ओपनर रोहित शर्मा ९, ऋषभ पन्त शून्य, सूर्यकुमार यादव ३, शिवम दुबे १६ बलमा ३ चौका र १ छक्कासहित २७ र रविन्द्र जडेजा २ रनमा आउट भए । हार्दिक पान्ड्या ५ रनमा नट आउट रहे ।
दक्षिण अफ्रिकाका केशव महाराजले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए । एनरिच नोर्कियाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडा र मार्को यानसनले १–१ विकेट लिएका थिए ।
विराट कोहलीलाई म्यान अफ दि म्याच घोषित भए भने प्रतियोगिता भरी उत्कृष्ट बलिंग गरेका जसप्रित बुमराहलाई म्यान अफ दि टुर्णामेन्टको सर्वश्रेष्ठ पुरस्कार प्रदान गरियो ।
अति नै रोमाञ्च र ससपेन्सले भरिएका फाइनल खेल फाइनल जस्तो भयो । रोहित शर्मा अर्थात हिट म्यानको सर्वश्रेष्ठ कैप्टेनसिपले आज भारत विश्वकपको उपाधी चुम्नमा कोच राहुल द्राविड, सपोट स्टाफ सबैको त्यतीकै भुमिका रहयो जतिको भारतीय टिमका एक एक खेलाडी रहे ।
विराट कोहलीद्धारा टी–२० बाट सन्यासको घोषणा
आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा उत्कृष्ट प्रदर्शन गरेर आफना टिमलाई जिताउने किंग कोहली अर्थात विराट कोहलीले म्यान अफ दि म्याचको पुरस्कार लिदै अब आफु टी–२० क्रिकेट बाट सन्यास लिदै युवा पुस्तालाई कमाण्ड सम्हाल्ने मौका दिने बताए ।
उनले भावुक हुदै भने मेरा र रोहितको लागि यो विश्वकप जित्नु निकै ठूलो सपना थिए तर आज पुरा भएको छ । त्यसैले यो विश्वकप मेरो लागि अन्तिम हो, अब युवा पुस्ताले कमाण्ड सम्हालेर देशको नाम उचाइमा पुर्याउने छ भने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार