आइटी आर्मीको आन्दोलनलाई स्थगित गर्न आजपा अध्यक्ष प्रभु साहको निर्देशन

39 Shares

काठमाडौं, २० असार । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले आइटी आर्मीद्धारा जारी राखिएको आन्दोलनलाई स्थगित गर्ने निर्देशन दिएका छन् ।
आजपा अध्यक्ष साहले पछिल्ला दिनमा घटेको राजनीतिक घटनाक्रमको कारण मुलुकमा संघिय लोकतन्त्र माथि ठूलो संकट आईपरेको हुँदा आइटी आर्मीको आन्दोलनलाई हाललाई स्थगन गरेर निर्णायक आन्दोलनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।
लोकतन्त्र संकटमा परेको हुँदा अव निर्णायक आन्दोलनको तयारी गर्नका लागि अहिले १९ दिन देखि भईरहेको आन्दोलनलाई स्थगित गर्न भनिएको छ । आईटी आर्मीले वैदेशिक रोजगार विभाग घेराउ, श्रममन्त्री डिपी अर्यालको पुत्ला दहनसमेत गरिसकेको छ । पछिल्लो समयमा कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने र संविधान संशोधन गर्ने लगायत विषयमा सहमति गरिसके पछि विकसित राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै आजपाका अध्यक्ष साहले आइटी आर्मीलाई आन्दोलनलाई तत्कालका लागि स्थगन गर्न निर्देशन दिए ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले अध्यक्ष प्रभु साहबाट तत्काल आन्दोलन स्थगन गर्न निर्देशन प्राप्त भएको जानकारी दिए । उनका अनुसार अध्यक्ष साहले देशको राजनीतिक परिस्थिति नै बदलिएको र लोकतन्त्र झन गम्भीर संकटमा परेको हुँदा पार्टीको सिँगो पँक्ति लोकतन्त्र बचाउनको लागि र तेस्रो जनआन्दोलनको लागि तयार हुनु पर्ने भएकोले अहिलेको आन्दोलन स्थगन गरिएको बताए ।
पार्टी अध्यक्ष प्रभु साहले देशमा दलीय सिण्डिकेट रहेकोमा अब देशकै दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार चलाउनु र संविधान संशोधनको विषय अघि ल्याउनुले लोकतन्त्र माथि कालो बादल मडारिएको निश्कर्ष निकालेका छन् । उनले देशमा लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको उल्लेख गर्दै अहिले त देशमा अधिनायकवादी चरित्र हाबी हुँदै दुई दलीय सिण्डिकेट लाद्न खोजिएकोमा आपत्ति जनाए ।

 

 

 

 

सम्बन्धित समाचार