जलेश्वरमा बोक्सीको आरोपमा महिलालाई मानव मलमुत्र खुवाउदै कपाल खौरिदिए

   १ कार्तिक २०७८, सोमबार १०:३८  

तराई टप संवाददाता
महोत्तरी, १ कार्तिक । महोत्तरी जिल्लामा बोक्सीको आरोप लगाउदै एक महिलालाई मानव मलमुत्र खुवाउदै अमानविय व्यवहार गरेको घटना बाहिरिएको छ ।
महोत्तरीमै बोक्सीको आरोपमा एक महिलाको हत्या भएको घटना सेलाउन नपाउँदै अर्को घटना उजागर हुनु निकै दुखद घटना भएको हो । जलेश्वर नगरपालिका वडा नम्बर ४ बस्ने ४२ वर्षीय सुकमरिया देवीलाई बोक्सी आरोपमा मलमूत्र खुवाई कपाल खौरिदिइएका छन् । घटना बाहिरिएपछि महोत्तरी प्रहरीले घटनामा संलग्न चार जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
बोक्सीको आरोप लगाएर मानव मलमुत्र खुवाएर अमानविय व्यवहार गर्ने स्थानीय सिकिन्दर महतो, उनकी ३२ बर्षिया श्रीमती पुरनी देवी महतो, ६५ वर्षीया प्रमिला देवी महतो र २० वर्षीय अनिल महतोलाई जिल्ला प्रहरी कार्यालय जलेश्वरको नियन्त्रणमा रहेको बताइएको छ । प्रहरीले घटनास्थलबाट पीडित महिलालाई बाँध्न प्रयोग भएको नाइलनको डोरी, पीडितको खौरिएको अवस्थामा कपालहरु, मलमूत्र खुवाउन प्रयोग गरिएको प्लास्टिकको ग्लास र बियरको बोतलसमेत बरामद गरेको छ ।
गत बुधबार बिहान ३ बजे सडकमै घुमफिर गरिरहेकी अवस्थामा सुकमरियालाई स्थानीय सिकिन्दर महतोलगायतले बोक्सीको आरोपमा कुटपिट गर्दै मलमूत्र खुवाई कपाल समेत खौरेर अपमानजनक ढंगले दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय जलेश्वरको प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।
सुकमरिया देवीलाई देख्ने बित्तिकै सिकिन्दर महतोकी १३ वर्षीया छोरी काजल कुमारी रुन थालिन् । त्यसपछि सिकिन्दर समेतले सुकमरिया देवीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाई कपालसमेत मुन्डन गरेको अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक मिश्रले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै