सडक पेटी अतिक्रमण गरेर चन्द्रपुरमा ठेला व्यापार गर्नेहरु विरुद्ध कारवाही, ५ दर्जन भन्दा बढि पसल हटाइयो

तराई टप संवाददाता
रौतहट १ कार्तिक । बाटो फराकिलो बनाइ सडक पेटीबाट पैदल यात्रीलाई आवतजावत गर्ने उद्देश्यबाट बनाइएपछि सडक पेटी अतिक्रम गरेर व्यापार संचालन गरिरहेको कार्यलाई सोमवारबाट खाली गराउने अभियान सुरु गरिएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने चन्द्रपुरको मुख्यचोक वरिपरी सडक पेटी अतिक्रम गरेर राखिएको ठेला, पसल जस्ता व्यापारबाट सर्वसाधारण जनताहरुलाई हिडडुलमा निकै अप्ठ्यारी परिरहदा उक्त अतिक्रमण कार्यलाई हटाउने अभियान संचालन गरिएको हो । चन्द्रपुरको मुख्य चोक, गौर सडकको चोकको सडक पेटीलाई नै अगोटेर फलफुल लगायतको विभिन्न किसिमको व्यापारीक पसलहरु संचालन गरेकाहरुलाई हटाउने अभियान सुरु गरिएका छन् ।
चन्द्रपुर नपाबाट सडक पेटी खाली गर्न पटक पटक लिखित एवं मौखिक सुचना जारी गर्दा समेत अटेरी गरेपछि बाध्य भएर कठोर कदम उठाउनु परेको वडाध्यक्ष अमर बहादुर आलेले बताए । चन्द्रपुर नगरपालिकाको समन्वयमा जिल्ला ट्राफिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरीले ठेला पसलहरु हटाएको छ । चोक तथा बजार क्षेत्रमा राजमार्गमा राखिएका ५ दर्जन भन्दा ठेला र पसलहरु हटाइएको छ ।
चन्द्रपुरका चोक वरिपरी फुटपाथ तथा सडकमा व्यापार गर्न दिए बापत घरवालाहरुले ठेलावालाहरु संग भाडा लिने गरेका थिए । व्यस्त राजमार्ग भएपनि सडक पेटीमा यसरी व्यापार संचालन गर्दा दुर्घटनाको जोखिम उच्च रहेको हुदा राजमार्गमै पसल राख्नेहरुलाई हटाइएको इलाका प्रहरी कार्यालय चन्द्रपुरको डिएसपी लिलाराज लामिछानेले बताए ।