रौतहट, २८ असोज । आफना कार्यकर्तालाई हत्या गरेको व्यक्ति उपर किटानी जाहेरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय मलंगवाको हाता भित्र प्रवेश गर्न खोज्दा नेपाली काँग्रेसको नेता एवं कार्यकर्ता र प्रहरी विच बुधवार झड्प भएको छ ।
सर्लाही जिल्लाको रामनगर गाउँपालिका वडा नम्वर ७ सिसौट निवासी असोज २१ गते साझ ६.३० बजेको समयमा महेन्द्र रामलाई सोही गाउँका विनोद दासको नेतृत्वमा आएका १२ जना व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाईते बनाएका थिए । रामको इण्डो नेपाल हस्पीटल विरगंजमा उपचारको क्रममा असोज २२ गते विहान ५.३० बजेको सयमा मृत्यु भएपछि ति व्यक्तिहरु विरुद्ध किटानी जाहेरी लिएर जाँदा प्रहरीले जाहेरी नलिएको पिडित पक्षको आरोप छ ।
प्रहरीले जाहेरी नलिदा सर्लाही क्षेत्र नम्वर ४ का साँसद अमरेश सिंहको नेतृत्वमा प्रदेश साँसद विनोद सिह सहित आज दिउसो १ बजेको समयमा ठूलो संख्यामा (२०००) नेपाली काँग्रेसका कार्यकर्ताहरु हातमा प्लेकार्ड झडु लिएर स्थानीय जिविस चोक देखि नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय मलंगवाको कम्पाउण्डमा हुल हुज्जत गर्दै प्रवेश गर्न खोज्दा प्रहरीले बल प्रयोग गर्ने वित्तिकै दोहोरो झड्पमा परिणत भए ।
प्रहरीले भिड नियन्त्रण गर्न लाठि चार्ज गरेपछि नेपाली काँग्रेसका कार्यकर्ताहरु ढुंगामुढामा उत्रिए पश्चात आत्मरक्षार्थ ३१ राउण्ड अश्रुग्यास प्रहार गरिएको छ । झड्पको क्रममा १६ जना सुरक्षाकर्मीहरु घाईते भएको डिएसपी मदन कुवरले जानकारी दिए । डिएसपी कुवरको अनुसार प्रदर्शनकारीहरुले चलाएको ढुंगाबाट जिप्रका भवनको झ्यालको सिसाहरु फुटेको र भित्र डिउटीमा रहेका जवानहरुलाई ढुंगा इटा लागेर घाईते हुन थालेपछि आत्मरक्षार्थ अश्रुग्यास चलाउनु पर्ने बाध्यता सृजना भएको स्पष्ट पारे । प्रदर्शनकारीहरु तर्फ पनि २५ जना घाईते भएको बताइएको छ ।
प्रदेश साँसद विनोद सिंहले धारिलो हतियार प्रहार गरेर हत्या गर्नु तर हत्यारालाई समात्नुको साटो सर्लाही प्रहरीद्धारा राजनितिक आडमा संरक्षण दिएको विरुद्धमा नेपाली काँग्रेसका कार्यकर्ता तथा आम जनताहरु सर्लाही प्रहरीको विरोध गर्दै स्वस्फूर्त रुपमा जाहेरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय तर्फ जान लाग्दा बल प्रयोग गरेर हाम्रा कार्यकर्ताहरुलाई घाईते बनाएको गम्भीर आरोप लगाए ।
नेका कार्यकर्ता रामलाई सहिद घोषणा गर्नुपर्ने, राज्यबाट उचित क्षतिपुर्ती पाउनुपर्ने, पिडकलाई तुरुन्तै समातेर कारवाही गर्नुपर्ने लगायतको माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरी जाहेरी दिन जाँदा प्रहरीले अबरोध सृजना गरेर दोहोरो झड्प गराएको गम्भीर लाञ्छना उनले लगाए ।
आज दिउसो भएको घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय मलंगवामा नेपाली काग्रेस पक्ष र प्रहरी प्रशासन विच छलफल भईरहेको छ ।