बोक्सीको आरोप लगाउदै महोत्तरीमा देवरले भाउजुको हत्या गरे

   १ कार्तिक २०७८, सोमबार १८:०६  

तराई टप संवाददाता
महोत्तरी, १ कार्तिक । महोत्तरीको महोत्तरी गाउँपालिकामा देवरले भाउजुको हत्या गरेको रहस्य प्रहरीले खोलेको छ ।
भाउजु संग लेनदेनको विषयमा वाद विवाद हुँदै आएपछि देवर संजय झाले भाउजु शिलादेवी झालाई बोक्सीको आरोप लगाउदै टाउकोमा हथौडा प्रहार गरेर हत्या गरेको प्रहरीले रहस्य सार्वजनिक गरेको हो ।
भाउजूसँग लेनदेनको समस्या रहेको र घरमा विभिन्न समस्याहरू एक्कासि आएको कारण बोक्सीको आरोपमा ती महिलाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय जलेश्वरमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रहरीले उक्त जानकारी दिएका हुन् ।
महोत्तरी गाउँपालिका वडा नम्बर ३ मडै बस्ने ४२ वर्षीया शिलादेवी झालाई बोक्सीको आरोप लगाउँदै उनका देवरले सञ्जय झाले हत्या गरेको महोत्तरी प्रहरीले जनाएको छ । शिलादेवी घरमा सुतिरहेकै अवस्थामा बिहीबार टाउकोमा हथौडा प्रहार गरी उनका देवर झाले हत्या गरेको पुष्टि भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए ।
आरोपित सञ्जय हाल जनकपुरधाम उपमहानगरपालिका २४ स्थित सोनापाडामा बसेर ज्यालादारीको काम गर्दै आएका थिए । हत्या गर्नु पूर्व सञ्जय बुधबार राति जनकपुरबाट साइकलमा घर पुगेका थिए । बिहीबार बिहान ३ बजेको समयमा शिलादेवी सुतिरहेकै स्थानमा हथौडाले टाउकोमा हानेर हत्या गरी पुनः जनकपुर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यले बताए ।
शिलादेवीले दिएको केरा खाँदा सञ्जयकी श्रीमती रिंकु झाको गर्भ तुहिएको र मुखबाट फिज आएर अस्पतालमा उपचार गराउँदा समेत ठिक नभएकाले उनी बोक्सी नै रहेको भन्दै सञ्जयले भाउजूको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ । शिलादेवीको हत्या नगर्दा परिवार सुखसँग बस्न नसक्ने भन्दै सञ्जयले भाउजूको हत्या गरेको स्वीकार गरेको उनले बताए । शिलादेवीलाई सञ्जयले दिएको १२ लाख ३९ हजार सापटी समेत फिर्ता नदिएको पाइएको महोत्तरी प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै