खुलेआम जुवा तास खेल्दै सर्लाहीका सुरक्षानिकायको पदाधिकारीहरु

   ५ कार्तिक २०७८, शुक्रबार ०८:५८  

तराई टप संवाददाता
सर्लाही, ५ कार्तिक । सिमाबाट हुने चुहावट नियन्त्रण गर्ने, जिल्लामा शान्ति सुरक्षा कायम राख्ने, सरकारी कार्यालयमा भईरहेको अनियमिततालाई नियन्त्रण गर्ने, सेवाग्राहीलाई समुचित रुपमा सेवा प्रवाह गराउने लगायतको राज्यले कार्यभार दिएर पठाएको व्यक्ति खुला चौरमा बसेर जुवा तास खेल्छन् भने त्यसको प्रभाव जनता माथि कस्तो पर्ला भने अहिले सर्लाही जिल्लाभरी चर्चाको विषय बनेको हो ।
तस्करी खुल्ला गरेर तस्करीकै भोज खाँदै सर्लाहीको सुरक्षा निकायको प्रमुख सहितका पदाधिकारीहरु खुला चौरमै बसेर तास खेल्ने गरेको भिडियो र तस्वीर बाहिरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सर्लाही प्रहरी प्रमुख सन्तोष सिंह राठौर, सशस्त्र प्रहरीको एसपी गंगाराम श्रेष्ठ, तत्कालिन जिल्ला सरकारी वकिल, जिल्ला समनवय समितिको सभापति मेथुर चौधरी सहित न्याय क्षेत्रमा कार्यरत विशिष्ट व्यक्तिहरु मनुसमारा वेस क्याम्पको खुला चौरमा बसेर जुवा तास खेल्दै गरेको थियो ।
भारत संग जोडिएको सर्लाही जिल्लाको सीमा भएर तस्करी लाइन खोलेर अकुत रकम कमाउन पल्केका यिनीहरु विरुद्ध समाचार विभिन्न संचारमाध्यममा प्रकाशित भएपनि सम्बन्धित निकायबाट कुनै कारवाही नगरिदा सर्लाही जिल्लाको प्रहरी प्रशासन प्रमुखको मनाबल बढ्दै गएको स्थानीयहरुले आरोप लगाए ।
सर्लाहीको मनुसमारा बेस क्याम्प र मधुवनी बेस क्याम्पका प्रमुखले दशै तिहारमा राम्ररी अबैध कारोवार संचालन गर्ने हेतु आयोजना गरिएको भोजमा खसी काटेर भोज आयोजना गरेको र सर्लाहीको सुरक्षा निकायका प्रमुखहरुले तस्करीको भोज खाँदै बेस क्याम्पमै तास खेलेको फोटो र भिडियो सार्वजनिक भएको छ ।
जिल्लामा जुवा, तास नियन्त्रण गर्ने, अवैध कारोबार नियन्त्रण गर्ने जिम्मेवार निकायका प्रमुखहरुले नै मनुसमारा बेस र मधुवनी बेसमा भइरहेको तस्करीको पैसाबाट भोजको आयोजना गर्न लगाएर एकातिर तस्करीलाई बढावा दिएको र अर्कोतिर सामाजिक विकृति बढाउने किसिमले सार्वजनिक ठाउँमा तास खेलेर सुरक्षा निकायको जिम्मेवारी नै बिर्सिएको आरोप बलरा नगरपालिकाको रामनरेश सिंहले लगाए ।
सर्लाहीका सुरक्षा प्रमुखहरुले सार्वजनिक ठाउँमा तास खेलेको दिन मनुसमारा बेस क्याम्पका कमान्डर धर्मेन्द्र भन्डारी बिदामा गएको समयमा मधुवनी बेसका इन्स्पेक्टर फणीन्द्र गोले र छतौना बेस क्याम्पका इन्स्पेक्टर सन्जीव तिवारीले भोजको संयुक्त व्यवस्थापन गरेका थिए ।
सर्लाहीको सुरक्षा निकायका प्रमुखहरु नै सार्वजनिक ठाउँमा तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी महतोले आफू त्यहाँ नभएको प्रतिक्रिया दिए । सार्वजनिक ठाउँमा तास खेलिएको भनिएको ठाउँमा आफू उपस्थित नरहेको प्रजिअ महतोले बताए पनि सुरक्षा स्रोतका अनुसार प्रजिअ महतो सित गृह मन्त्रालयले स्पष्टीकरण सोधिसकेको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी सन्तोष राठौर बिदामा गएको बुझिएको छ । सार्वजनिक ठाउँमा तास खेलेको समाचार बाहिरिने भएपछि एसपी राठौर आफूमाथि हुन सक्ने सम्भावित कारवाहीलाई मिलाउन व्यस्त रहेको स्रोतको भनाइ छ ।
यसरी जिम्मेवार पदाधिकारीहरु भएर सार्वजनिक स्थान वा खुला चौरमा जुवा तास खेल्दा अहिले सम्म गृह मन्त्रालय किन चुप लागेर किन बसेको होला ? सर्लाहीको जनताहरुले प्रश्न उठाएको छ । अविलम्ब यिनीहरुको जिम्मेवारी खोसेर आवश्यक छानविन गरेर दोषि पाइएमा कानुन बमोजिम कारवाही अघि बढाउनुपर्ने माग उनिहरुले गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै