“एयर कनेक्टिभिटी” बढाउन नेपाललाई थप हवाई रुट उपलब्ध गराउनः परराष्ट्र मन्त्री डा. राणाको प्रस्ताव

0 Shares

रौतहट, २८ साउन । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संग भारतीय विदेश सचिव विक्रम मिस्रीले सोमवार दिउसो शिष्टाचार भेटघाट गरेका छन् ।
संघिय राजधानी काठमाडौं स्थित सिंहदरवारमा रहेका परराष्ट्र मन्त्रालयमा आज दिउसो मन्त्री आरजु संग नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव मिस्रीले शिष्टाचार भेटघाट गरेका हुन् ।
भेटघाटको क्रममा उनीहरूबीच द्विपक्षीय सम्बन्धका पक्षका साथै आर्थिक एवं विकास सहायता तथा विभिन्न आयोजना लगायत विषयमा छलफल भएको बताइएको छ । वार्ताका क्रममा मन्त्री डा. राणाले नेपाल–भारत “एयर कनेक्टिभिटी” बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका निम्ति सचिव मिश्री मार्फत भारतसँग कुरा राखिन् ।
उनले नेपाल–भारतका सीमाक्षेत्र हुँदै आयात गरिने तरकारी र फलफूलको गुणस्तर मापन सम्बन्धी परीक्षणका निम्ति प्रयोगशाला स्थापना गर्न भारतको पहल हुनुपर्ने भनिन् । साथै पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा समेत उनले विषय उठाइन् ।
यसका धेरैजसो समस्या समाधान भइसकेको र बाँकी प्राविधिक समूह मार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको थियो । यस्तै, उनले टनकपुर बाँधको नहरमा पानी छोड्न, वाणगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिमलाई कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिश्री मार्फत भारत सरकारसँग कुरा राखिन् । उनले दार्चुलाको पुल उद्घाटनबारे पनि प्रसंग उठाएकी थिइन् ।
मन्त्री डा. राणाले व्यापार तथा पारवहन सम्बन्धी वार्तालाई निरन्तरता दिइनुपर्नेमा जोड दिइन् । जाजरकोटमा भूकम्पमा परेका पीडितको उद्धार र सहायताका निम्ति भारत सरकारको सहयोगप्रति उनले धन्यवाद ज्ञापन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार