जनकपुरधाम, ३१ साउन । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह संग स्विस नियोगका अधिकारीले शिष्टाचार भेटघाट गरेका छन् ।
मधेश प्रदेशका राजधानी जनकपुरधाम स्थित मुख्यमन्त्री निवासमा विहिवार स्विस प्रतिनिधिले मुख्यमन्त्री सिंह संग गरेको शिष्टाचार भेटघाटको क्रममा मधेश सरकारका विभिन्न योजना कार्यान्वयनमा सहयोग तथा साझेदार गर्ने विषयमा सहमती भएको मुख्यमन्त्रीको सचिवालयले जनाएका हुन् ।
भेटघाको क्रममा नियोगका अधिकारीहरूले प्रदेश सरकारका अल्पकालीन तथा दीर्घकालीन महत्वका योजना कार्यान्वयनमा साझेदारी गर्न सकिने र प्रदेशमा सञ्चालन भइरहेका नियोगका कार्यक्रमलाई थप विस्तारित एवम् प्रभावकारी बनाइने बताए ।
स्विस नियोगका डेपुटी चिफ अफ मिसन म्याथियास मेयर लगायतका अधिकारी सँगको भेटमा मुख्यमन्त्री सिँहले मधेशमा सिँचाइ लगायत बहुआयामिक परियोजना विकास तथा विस्तारका लागि नदी जोड्ने तथा नहर निर्माण योजना कार्यान्वयन, मधेश विश्वविद्यालयमा संघियता विषयमा वृहद अध्ययन अध्यापन गराउन, वैदेशिक रोजगारबाट फर्केकाहरूलाई दक्षता क्षमता अभिवृद्धि तथा उद्यम सञ्चालन, प्रदेशमा पूर्ण साक्षरता, सूचना प्रविधिको विकास तथा व्यावसायीकीकरण लगायतका क्षेत्रमा सहयोग गर्न आग्रह गरे ।
उनले आँप र केरा लगायत खेतीको समुचित रुपमा प्रवद्र्धन तथा उत्पादनका लागि प्रविधि हस्तान्तरण तथा उपयोगका लागि समेत नियोगका अधिकारीहरूको ध्यानाकर्षण गराए ।
नियोगका डेपुटी चिफ अफ मिसन मेयरले एसडिसी मार्फत स्विट्जरल्यान्डले नेपाललाई संघीय लोकतान्त्रिक राज्यका रूपमा विकसित गर्न, समतामूलक सामाजिक तथा आर्थिक विकास प्रवद्र्धन गर्न र नयाँ संघीय संरचनामा महिला तथा पुरुषलाई उनीहरूको अधिकार र जिम्मेवारी प्रयोग गर्न सक्षम बनाउन सहयोग गरिरहेको बताए ।
उनले संघीय राज्य विकास, रोजगारी र आय प्रवद्र्धनसँगै नेपाली आप्रवासी कामदारको सुरक्षामा योगदान पुर्याउने, लैंगिक समानता र सामाजिक समावेशीकरण, प्रकोप जोखिम न्यूनीकरण लगायतका क्षेत्रमा नियोगले प्रदेश सरकारसँग काम गर्न उत्सुक रहेको उल्लेख गरे । मेयरले नियोगका कार्यक्रमलाई तुलनात्मक रूपमा थप सुदृढ र प्रभावकारी बनाइने उल्लेख गरे ।
उनले प्रदेश सरकारले पूर्वाधार विकसित गरे सूचना प्रविधि क्षेत्र विकासका लागि बहुराष्ट्रिय कम्पनी सँग जोड्न एसडिसीले सहयोग गर्ने बताए ।
मुख्यमन्त्रीसँगको भेटमा नियोगका प्रशासन तथा अर्थ विज्ञ मार्क वर्ली को पनि सहभागी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएका छन् ।