पोके एवं संगठित तस्करहरुको लागि प्रदेश २ स्वर्ग बन्दै

424 Shares

तराई टप संवाददाता
रौतहट, ६ कार्तिक । दक्षिणी मित्र राष्ट्र भारतीय बजार क्षेत्रबाट चोर नाका हुँदै सानो तथा संगठित रुपमा तस्करी कार्य प्रदेश २ भरी नै व्यापक रुपमा भईरहेको पाइएको छ ।
पछिल्लो समयमा सिमाक्षेत्रमा साना साना पोके तस्कर देखि लिएर ठूल ठूला तस्करहरुको अहिले हालीमुहाली बढेर गएको हो । उक्त अबैध कारोवार स्थानीय सुरक्षाकर्मीहरुको मिलोमतोमा मुख्य नाका एवं चोरबाटोको प्रयोग गरेर समान ओसार पसार गर्ने गरेका छन् ।
प्रदेश नम्वर २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा र पर्सा यतिखेर अबैध कारोवारीहरुको लागि स्वर्ग बनेको छ । प्रदेश नम्वर २ मा अहिले तस्करी गर्नेहरु सुन फलाईरहेको श्रोतको दाबी छ । श्रोतका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित उक्त जिल्लाको सुरक्षा निकायको प्रमुखहरु यस्ता अबैध कारोवारको लागि सेटिंग मिलाएर संगठित रुपमा तस्करी कार्यलाई संरक्षण दिएको तथा प्रदेश प्रहरी प्रमुख समक्ष तस्करी वापतको भाग पुग्ने गरेको हुँदा तस्करी कार्यले संगठित रुप लिएका छन् ।


सिमानाकाबाट हुने चोरी तस्करीको कारण भन्सार राजस्वलाई प्रभावमा पारेको छ । सशस्त्र प्रहरीले पनि साउन यता चार महिनाको अवधिमा बिभिन्न नाका हुदै नेपाल ल्याएका भन्सार छलीका १ करोड ५० लाख मुल्य बराबरको समान बरामद गरेको छ । नेपाल प्रहरीले पनि थुप्रै सामान सहित सवारी साधनहरु समातेर भन्सार कार्यालयमा दाखिला गरेको भएपनि तस्कारी कार्य निरन्तर रुपमा जारी रहेको छ ।
सेटिंग नमिलेका कारोवारीहरुको सामान समातिने गरेको अबैध कारोवार गर्ने गिरोहकै एक सदस्यले तराई टपलाई बताए । धनुषाको जटही, महोत्तरीको जलेश्वर, मधवा, बथनाहा, सर्लाहीको त्रिभुवननगर, हनुमान नगर, फेनहरा, कनौली, बलरा, छतौना, रौतहटको ब्रम्हपुरी, वेलविछवा, गौर, बन्जरहा, औरैया, रामपुरखाप, लतमरी, महुलिया, कोपवा, बंकुल बाराको कचोर्वा, सिम्रौनगढ, सहित पर्साको पिपरा पोखरिया, भिसवा लगायतको दर्जनौ नाकाहरु अहिले तस्कारी कार्य गर्नेहरुको लागि स्वर्ग बनेको श्रोतले दाबी गरेको छ ।
सलाहीको त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज मनोज यादवले सर्लाही जिल्लाको लाइन दिने प्रमुख पात्रको रुपमा रहेको बुझिएको छ । उनले एसपी सन्तोष सिंह राठौर देखि लिएर डिआजी सम्मलाई म्यानेज गरेर अबैध कारोवारलाई संरक्षण दिदै आएको छ । मनोजको प्रहरी प्रधान कार्यालयमा ठूलो पकड रहेको हुँदा हालै उनलाई हेडक्वाटरमा तानेपनि पुन ः सर्लाही पठाएकोबाट प्रष्ट भएको छ ।
पहिला पहिला एउटा उखान थियो न्याय नपाए गोरखा जाउ, पैसा कमाउनु छ भने प्रदेश २ आउनुस भने उखान अहिले चरितार्थ भएको छ । अपराध त्यतीकै बढेको छ, सवारी दुर्घटना त्यतीकै बढेको छ तर नियमनकारी निकायलाई पैसा कमाउनुबाट फुर्सद छैनन् कसरी सुध्रिएला, समाज कता तिर जाँदै छ, के हामी असल नागरिक बन्न सक्दैनौ, अबैध कारोवार गरेर कति दिन सम्म अघि बढ्ने यो सोचनिय विषय हो, गम्भीर बनौं अबैध कारोवारलाई निरुत्साहित गरौं सफल अभियानको थालनी गरौं ।

सम्बन्धित समाचार