तराई टप संवाददाता
सर्लाही, ७ कार्तिक । खुला चौरमा बसेर जुवा तास खेलिरहेको भिडियो एवं तस्वीरु बारिएपछि सर्लाहीका दुवै प्रहरी प्रमुखको जिम्मेवारी खोसिएको छ ।
खुलेआम तस्करीको लाइन संचालन गरी खुला चौरमा बसेर प्रमुख जिल्ला अधिकारी सहितका प्रहरी प्रमुखहरु जुवा तासमा मस्त रहेको समाचार तराई टप सहित विभिन्न समाचार माध्यममा प्रकाशित प्रशारित भएपछि गृह प्रशासनले दुवै प्रहरी प्रमुखको जिम्मेवारी खोसी अर्को व्यक्तिलाई सर्लाहीको जिम्मेवारी दिएको हो ।
नेपाल प्रहरीको एसपी सन्तोष सिंह राठौर र सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठ सहित सुरक्षा निकायको जिम्मेवार व्यक्तिहरु खुला चौरमा बसेर तास खेलिरहेको समाचार भएपछि आजै दुवै जनाको जिम्मेवारी सर्लाहीबाट खोसेर काज सरुवा गरिएका हुन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो सहित सुरक्षा निकायका प्रमुखहरु सार्वजनिक स्थानमा तास खेलेको भिडियो र तस्वीर सार्वजनिक भए पछि आलोचित बनेका थिए । गत भदौं २६ गते सशस्त्र प्रहरी मनुसमारा बेस क्याम्पमा सर्लाहीका सुरक्षा निकायका प्रमुखहरुले तस्करी वापतको रकम संकलन भएको रकमबाट भोज खादै तास खेलेको भिडियो बाहिरिएको थियो । पछिल्लो समय सर्लाहीका विभिन्न नाकाहरुबाट तस्करी समेत बढेको पाइएपछि दुवै सुरक्षा प्रमुखको काज सरुवा भएको श्रोतको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी राठोरको सरुवाको पत्र आएको केही समय पछि नै सशस्त्र प्रहरी बल १० नम्बर गणका एसपी श्रेष्ठको पनि काज सरुवा भएको छ ।
नेपाल प्रहरीका एसपी राठौरलाई प्रहरी एकेडेमी काठमार्डौ काज सरुवा भएको छ । उनको स्थानमा प्रदेश २ प्रहरी कार्यालयबाट कृष्ण प्रसाद प्रसाइको काज सरुवा गरिएको छ । यसैगरी सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठको स्थानमा प्रदेश ३ गढीमाइ बाहिनीमा कार्यरत एसपी भरत खनियालाई सर्लाहीमा काज सरुवा गरिएको सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका प्रमुख डिआइजि गणेश ठाडा मगरले जानकारी दिए । सशस्त्र एसपि श्रेष्ठको करिब १९ महिनापछि काज सरुवा भएको छ ।
यस्तै धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटालाई पनि प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ । केही दिन अघि खानेपानीको प्रदेश प्रमुखलाई जनमत पार्टीका कार्यकर्ताले कालोमोसो दली कुटपीट गर्दै एक घण्टा सम्म जनकपुर घुमाउदा समेत प्रहरी मुखदर्शक बनेको आरोपमा एसपी रानाभाटलाई प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको श्रोतले बतायो ।