मलयाली अभिनेता सिद्दिकीविरुद्ध बलात्कारको मुद्दा

0 Shares

केरला । मलयालम फिल्म उद्योगबाट बाहिर आएका यौन उत्पीडन र शोषणका घटना रोकिने सङ्केत देखिएको छैन। हालै धेरै अभिनेत्रीहरूले मलयालम सिनेमाका वरिष्ठ कलाकारहरूमाथि उत्पीडनको आरोप लगाएका थिए। यसैबिच अब अभिनेत्री रेवती सम्पथले वरिष्ठ मलयाली अभिनेता सिद्दिकीविरुद्ध बलात्कारको मुद्दा दायर गरेकी छिन् । प्रहरीले गैर जमानती कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । मंगलबार अभिनेत्री सम्पथले अभिनेता सिद्दिकीविरुद्ध त्रिभान्दर सङ्ग्रहालय प्रहरी चौकीमा उजुरी दिएकी थिइन् । मलयालम फिल्म उद्योगमा हुने यौन दुर्व्यवहारका घटनाहरूको छानबिन गर्न गठन गरिएको एसआईटी (विशेष अनुसन्धान टोली)ले यो मुद्दाको अनुसन्धान गर्नेछ। अभिनेत्री रेवती सम्पथले आफ्नो उजुरीमा ८ वर्षअघि २०१६ मा सिद्दिकीले फिल्मको बारेमा कुरा गर्न मस्कट होटलमा बोलाएर यौन उत्पीडन गरेको बताएकी छन् । लिखित उजुरी गर्नुअघि रेवती सम्पथले सिद्दिकीमाथि शारीरिक शोषण गरेको आरोप लगाएकी थिइन् । आरोपपछि सिद्दिकीले प्रहरीसमक्ष उजुरी दिएका थिए र आफ्नो छविलाई ध्वस्त पार्न आफूमाथि गम्भीर आरोप लगाइएको बताएका थिए । उनले सन् २०१६ मा रेवती सम्पथलाई आमाबुवाको उपस्थितिमा भेटेको उजुरीमा उल्लेख गरेका थिए । वरिष्ठ अभिनेता सिद्दिकी मलयालम चलचित्र कलाकारहरूको संघको महासचिव थिए।  सन् २०१९ मा मलयालम सिनेमामा महिला कलाकारहरूको लागि हेमा समिति गठन गरिएको थियो। अगस्ट १९ मा हेमा समितिले केरला सरकारलाई २३३ पृष्ठको प्रतिवेदन बुझाएको थियो, जसमा धेरै ठुला कलाकारहरूबाट उत्पीडन भएको उल्लेख छ। रिपोर्ट आए लगत्तै वरिष्ठ अभिनेता सिद्दिकीले पत्रकार सम्मेलन गरी रिपोर्टमा गरिएको दाबीलाई अस्वीकार गरेका छन् । तर, त्यसलगत्तै अभिनेत्री रेवती सम्पथले उनीमाथि यौन उत्पीडनको आरोप लगाएपछि उनले संघको महासचिव पदबाट राजीनामा दिएका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार