वीरगञ्ज, १६ भदौं । नेपाल सरकारमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी आज आईतवार विहान मधेस प्रदेशमा आउनु भएको छ ।
खेलकुद मन्त्री चौधरी पर्सा, रौतहट र धनुषा जिल्लाको विभिन्न स्थानहरुमा भ्रमण गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार आज विहान ७ः३० सिमरा एअरपोर्ट विमानस्थलमा आइपुग्नु भएको हो ।
मन्त्री चौधरीको भ्रमणको क्रममा नेपाली कांग्रेस पर्साले स्वागत तथा अभिनन्दन कार्यक्रममा सहभागी हुने र नारायणी रंगशालाको निरीक्षण गरी रौतहटको चन्द्रपुर नगरपालिकाको मेयर संग भेटघाट कार्यक्रम रहेको नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागका प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
नेपाली कांग्रेस पार्टीको पदाधिकारीहरुसंग छलफल एवं अन्तरक्रिया कार्यक्रम गरिने गुप्ताले बताए । खेलकुद क्षेत्रमा युवाहरुको विश्वास जित्ने रणनीतिहरु तय गरिने, मधेश प्रदेशको तिनै जिल्लामा खेलकुदको सम्भावनालाई पहिचान गरेर उक्त खेलकुदका क्षेत्रमा जनशक्ति उत्पादन हेतु प्रशिक्षण तथा खेलकुद मैदानलाई व्यवस्थित बनाउने मुख्य उद्देश्यका साथ मन्त्री चौधरी मधेश प्रदेश भ्रमणमा आएको कांग्रेस प्रचार प्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिए ।