रौतहट, १८ भदौं । राज्यको अरबौं राजस्व नोक्सान हुने गरी बर्तमान मन्त्री परिषदले गरेको किस्ताबन्दीको निर्णयलाई लिएर आम जनता पार्टीका अध्यक्ष प्रभु साहले एनसेल संग प्रधानमन्त्रीको सम्बन्ध के हो ? भनेर प्रश्न उठाए ।
प्रतिनिधिसभाको मंगलवार बसेको बैठकलाई सम्बोधन गर्दै सासद साहले कानुन विपरित एनसेलको नविकरण गरिएकोमा आपत्ती जनाउदै किस्ताबन्दीमा गरिएको मन्त्रीपरिषदको निर्णयमा उनले गम्भीर प्रश्न चिन्ह् खडा गरेका हुन् ।
आजपा अध्यक्ष एवं रौतहट निर्वाचन क्षेत्र नम्वर ३ का साँसद साहले प्रधानमन्त्री केपी शर्मा ओली र एनसेल बीचको कनेक्शन के हो ? भनेर प्रश्न सोधे ।
करदाता कार्यालयले तोकेको राजस्व नलिईकन सरकारले एनसेलको लाईसेन्स नवीकरण गर्ने भदौं १३ गतेको निर्णय माथि गम्भीर रुपमा आपत्ती जनाउदै मन्त्रिपरिषद् बैठकबाट भएको किस्ताबन्दीमा राजस्व लिनेगरी लाईसेन्स नवीकरण गर्ने निर्णय राष्ट्रघाती भएको ठहर गरे ।
“यो नै पहिलो होईन, यो तेस्रो पटक किस्तावन्दीमा नवीकरण गर्ने निर्णय गरिएको छ । अरबौं अरब राजस्व हिनामिना हुनेगरी जो सरकारले गरिरहेको छ, यहाँ गम्भीर प्रश्न उठेको छ”, “कुन आधारमा र कुन कानून अन्तर्गत रहेर यो नवीकरण गरियो ? म प्रश्न गर्न चाहन्छु” साहले सदनमा आवाज उठाए ।
“ठूलाबडाहरुलाई एउटा कानुन लाग्ने अनि सानालाई अर्को कानून लाग्ने हुन्छ ? आम जनताहरु आफ्नो व्यवसायिक फर्मलाई नवीकरण गर्नुपर्दा के उसले राजस्व छुट पाउँछ ? सानाले त नवीकरण गर्दा ढिला भए जरिवाना तिर्नुपर्छ । यो प्रवृत्तिले राजस्व संकलन भन्दा पनि व्यक्ति मोटाउने कार्यमा लागिपरेको छ” उनले गम्भीर आरोप लगाए ।
उनले प्रश्न गरे “यदि त्यो पैसा उठेन भने वा ती विदेशी लगानीकर्ता भाग्यो भने राजश्व कसले दिने ? प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ कि पर्दैन् ? अहिलेका मन्त्रिपरिषद्का मन्त्रीहरु यसको जमानत बस्नुपर्छ कि पर्दैन् ? सरकारले आफ्नो विश्वासमा यो निर्णय लिईराख्दा भोलिका दिनमा यी विदेशी लगानीकर्ता भाग्यो भने र भोलि यो राजस्व कसैले दिने स्थिति भएन भने भोलि यो क्याविनेटका सदस्यहरु यसको जिम्मेवार हुनुपर्छ कि पर्दैन् ?” सदनको ध्यानाकर्षण गराए ।