तराई टप डेष्क
सर्लाही, २३ भदौं । “शान्ति सुरक्षा सुरक्षणम” को मुल मत्रका साथ प्रहरी सेवामा प्रवेश गरेका व्यक्ति संगठन प्रति वफादार नभई व्यक्ति प्रति वफादार भएको रहस्य बाहिरिएको छ ।
सर्लाही जिल्लाको ब्रम्हपुरी प्रहरी चौकीमा प्रहरी जवानमा कार्यरत मुकेश गुप्ता “शान्ति सुरक्षा सुरक्षणम” को ठिक विपरित कार्य गर्दै दिनभरी आर्थिक अपराधमा संलग्न रहेको बुझिन आएको हो ।
प्रहरी जवान गुप्ताले सर्लाही जिल्लाबाट विभिन्न कारोबारीबाट रकम असुल गरेर तत्कालिन मधेश प्रदेशका प्रहरी प्रमुख एवं डिआइजीलाई बुझाउने गरेको श्रोतले दाबी गरेको छ । श्रोतका अनुसार डिआइजीको खातामा रकम बढि जम्मा भएको शंकाष्पद भेटिएपछि प्रहरी प्रधान कार्यालयले खाताको गहन अनुसन्धान एवं छानविन सुरु गरेको र सोही कारण विभिन्न पदमा कार्यरत १० जनाको जिम्मेवारी खोसेर प्रहरी प्रधान कार्यालयमा तानिएको हो ।
प्रहरी जवान गुप्ताले रकम उठाउने कार्य बन्द गरेका छैनन् । प्रज गुप्ता ब्रम्हपुरी प्रहरी चौकी बाहिर भाडामा कोठा लिएर बसेको भएपनि पछिल्लो केही महिना देखि ड्युटी गरेको छैनन् । उनले नेपाल भारत सीमा क्षेत्रमा गरिने हरेक कारोवारीबाट डिआइजी देखि लिएर अन्य पदाधिकारी सम्मको भाग संकलन गरेर पुर्याउने कार्यमा खटिएका छन् । सर्लाही जिल्लाको हरेक नाकाबाट अहिले साना देखि लिएर ठूलो लाइन निर्वाध रुपमा संचालनमा रहेका छन् ।
जिल्ला देखि लिएर प्रदेश प्रमुख सम्मका सिभिल (घुमुवा) प्रहरी परिचालन गरेर रकम संकलनको कार्य भईरहेको श्रोतले बताउँछन् । प्रत्येक प्रहरी चौकी एवं सीमा प्रहरी चौकीका इन्चार्जहरु आ आफनै घुमुवा प्रहरीलाई परिचालन गरेर महिनावारी रकम संकलनको कार्य गराउन जारी रहेको ति श्रोतले दाबी गरे । ब्रम्हपुरी प्रहरी चौकी इन्चार्जलाई फोन गर्दा फोन रिसिभ गरेन ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले प्रहरी जवान मुकेशकुमार गुप्ताको जिल्ला प्रहरी कार्यालय सर्लाहीमै दरबन्दी रहेको र खटाइएको स्थान व्रम्हपुरी प्रहरी चौकीमा डिउटी गर्ने गरेको दाबी गरे ।