जनकपुरधाम, २३ भदौं । मुख्यमन्त्री सतिशकुमार सिंहले साक्षरता दिवसको अवसरमा सम्पूर्ण जनसमुदायलाई शुभकामना दिए ।
साक्षरता अक्षरका मात्रै ज्ञान नभई समाजलाई जागरुक, चेतनशिल, आत्मविश्वास र व्यत्तित्वको विकास गर्ने प्रमुख आधार नै साक्षरता हो । एक साक्षर व्यक्तिले मात्रै समाजको समुचित विकासमा सहायक सिद्ध हुनसक्छ ।
मधेश प्रदेश सरकारले मुख्यमन्त्री साक्षरता अभियान सञ्चालनमा ल्याएको छ । यस अभियानबाट मधेश प्रदेशका सबै नागरिकलाई साक्षर बनाउने उद्देश्य लिइएको छ । सबैले शिक्षाको महत्व बुझेर प्रत्येक नागरिकलाई साक्षर बनाउने कटिबद्ध हुनु जरुरी रहेको मुख्यमन्त्री सिंहले भने ।
मधेशमा साक्षरताको अवस्था विगतका वर्षहरूमा केही सुधार भए तापनि अझै चुनौतिपूर्ण रहेको छ । मधेश प्रदेशका कुनै पनि जिल्लालाई हालसम्म पूर्ण साक्षर जिल्ला घोषणा हुन सकेका छैनन् । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूद्वारा साक्षरताको स्तर उकास्न विभिन्न प्रयासहरू भइरहेपनि आर्थिक, सामाजिक, र सांस्कृतिक कारणहरूले गर्दा मधेशमा साक्षरता बढाउने काम अपेक्षाकृत चुनौतिपूर्ण नै देखिएको मुख्यमन्त्रीले जिकिर गरे ।
कम साक्षरता दर मधेश प्रदेशको प्रमुख चुनौति रहेको छ । ग्रामीण क्षेत्र र सीमित शैक्षिक पहुँच भएका मधेशी समुदायहरूमा अझै पनि साक्षरता दर राष्ट्रिय औसत भन्दा तल छ । विशेष गरी महिलाहरू र पिछडिएका जातीय समूहमा यो समस्या बढिरहेको बताए ।
साक्षरतालाई प्रभावित गर्नेमा गरिबी र रोजगार जस्ता चुनौति पनि छन् । बाल्यकालमै काम गर्नुपर्ने बाध्यताले पनि बालबालिकाहरूको शिक्षामा अवरोध उत्पन्न गरेको छ । धेरैजसो बालबालिका पढ्न भन्दा काम गर्नमा लाग्न बाध्य छन्, जसले गर्दा साक्षरता दरमा प्रतिकूल असर परेको छ ।
शिक्षामा पहुँच र अवसरको कम वितरण, मधेशी भाषाको शिक्षामा कमी, र स्थानीय समुदायमा शिक्षासम्बन्धी चेतनाको अभावले पनि साक्षरता अभियानमा चुनौतिहरू थपिएका छन् । प्रदेश सरकार साक्षरता अभिवृद्धिका लागि निरन्तर प्रयासरत रहेको बताउदै मुख्यमन्त्री सिंहल हामी प्रत्येक नागरिकलाई शिक्षित बनाउने लक्ष्यका साथ अघि बढिरहेका छौ तथा आउनुहोस्, यस अवसरमा हामी सबैले शिक्षालाई समाजको प्राथमिक अधिकारका रूपमा सुनिश्चित गर्दै अगाडि बढौं, उनले भने ।