तस्वीरः एएनआई
नयाँ दिल्ली, एजेन्सी । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको निधन भएको छ । ७२ वर्षीय यचुरीको उपचारका क्रममा बिहीबार दिउँसो निधन भएको सीपीएमका वरिष्ठ नेता पुण्यवतीले पुष्टि गरे ।
भारतीय सञ्चारमाध्यमका अनुसार, केही समयदेखि बिरामी रहेका उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।
सेप्टेम्बर १० मा सीपीएमले जारी गरेको विज्ञप्तिमा यचुरीलाई श्वासप्रश्वाससम्बन्धी गम्भीर संक्रमण भएको बताइएको थियो ।
परिवारले उनको शव अस्पताललाई दान गरेका छन् । उनलाई अगस्ट १९ मा एम्समा भर्ना गरिएको थियो । उनको २५ दिनदेखि उपचार भइरहेको थियो ।
यचुरीलाई देशभरका नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । कांग्रेस नेता राहुल गान्धीले यचुरी आफ्नो असल साथी भएको बताएका छन् ।
मुख्यमन्त्री ममता बनर्जीले यचुरीको निधनको खबर सुनेर आफू निकै दुखी भएको बताएकी छन् । उनी अनुभवी सांसद भएको र उनको निधनले राष्ट्रिय राजनीतिलाई ठूलो क्षति पुगेको बनर्जीको भनाइ छ ।
यचुरीको विगत
यचुरीले कक्षा १० सम्म अल सेन्ट्स हाई स्कुलमा पढेका थिए । सन् १९६९ को तेलंगाना आन्दोलनका क्रममा उनी दिल्ली पुगेका थिए । यचुरी दिल्लीको प्रेसिडेन्ट एस्टेट स्कुलमा भर्ना भए र सीबीएसई उच्च माध्यमिक परीक्षामा अखिल भारतीय प्रथम श्रेणी प्राप्त गरेका थिए । उनले दिल्लीको सेन्ट स्टिफन्स कलेजबाट प्रथम श्रेणीमा अर्थशास्त्रमा बीए गरेका थिए ।
त्यसपछि उनले जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)बाट अर्थशास्त्रमा एमए गरे । उनले जेएनयूमा पीएचडीका लागि भर्ना गरेका थिए । तर, सन् १९७५ मा आपत्कालका बेला गिरफ्तारीका कारण पूरा हुन सकेन ।
तत्कालीन उपराष्ट्रपति एम हमिद अन्सारीले सन् २०१७ मा यचुरीलाई उत्कृष्ट सांसद (राज्यसभा) पुरस्कार दिएका थिए ।
यचुरीकी पत्नी सीमा चिश्ती पेसाले पत्रकार हुन् । यचुरीले एक अन्तर्वार्तामा आफ्नी श्रीमतीले आर्थिक सहयोग गर्ने बताएका थिए । उनको पहिलो विवाह वीणा मजुमदारकी छोरी इन्द्राणी मजुमदारसँग भएको थियो । यस विवाहबाट उनको एक छोरी र एक छोरा छन् । यचुरीका छोरा आशिषको ३४ वर्षको उमेरमा २२ अप्रिल २०२१ मा कोभिडका कारण मृत्यु भएको थियो । एएनआई।