श्याम गुप्ता
बारा, २८ भदौ । कलवार कल्याण समिति जीतपुर बाराको आयोजनामा कलवार समुदायको कुल देवताको रुपमा रहेका “बलभद्र भगवान” को शुक्रवार भव्य रुपमा सामुहिक पूजाको आयोजना गरियो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ७ जीतपुरमा “बलभद्र भगवान” को पुजा कलवार कल्याण समिति जीतपुर बाराका अध्यक्ष कन्हैया प्रसाद गुप्ताको नेतृत्वमा आयोजना गरिएको हो ।
सामुहिक पूजाको मुख्य जजुमानको रुपमा स्थानीय कल्वार समुदायका फुर्तीलाल प्रसाद कलवार र उनकी श्रीमती सुनैना देवीले पूजाको अवधी भर उपवास (चौका) बसी पूजालाई पूर्णता दिएका थिए ।
प्राचिन काल देखि नैं भगवान श्रीकृष्णका दाजु बलभद्र भगवान कलवार समुदायको कुल देवताको रुपामा रहनु भएको छ । बिभिन्न समुदायका श्रद्धालुहरु बलभद्र भगवानलाई बलरामको रुपमा पनि लिने गरेको बलभद्र पूजन समारोहका आचार्य पवनेश शास्त्रीले बताए ।
बललाई शक्ती र भद्रलाई अन्न मानिएको आचार्य शास्त्रीले बलभद्र भगवानको अर्थ बताउँदै बलभद्र भगवानलाई भात, बिषेश किसिमको दाल र पाँच प्रकारको तरकारी लगायतको भोग लगाउने प्रचलन रहेको छ ।
उनको पूजा पश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनहरुले प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन प्राचिन काल देखि नैं चलि आईरहेको पनि उनले बताए ।
पूजा आरम्भ गर्नु अघि यो समुदायले झाँकी तथा घोडाद्वारा घोड्दौल सहितको शोभा यात्रा पनि निकालेको थियो ।
सयौंको संख्यामा रहेका श्रद्धालु भक्तजनहरुको सहभागितामा पूजा स्थलबाट निकालिएको शोभा यात्राले जीतपुर नगर परिक्रमा गरी पुनः पूजा स्थलमा फर्किएर बिधिवत पूजा आरम्भ भएको थियो ।