जनकपुरधाम, २८ भदौं । जनमत पार्टीकी मधेश प्रदेश साँसद भाग्यश्री चौधरीले समाचारको विषयलाई लिएर पत्रकारमाथि प्रहरीले मुद्दा हाल्नु प्रेस स्वतन्त्रताको उपहास भएको बताएकी छिन् ।
प्रदेशसभाको बैठकमा शुन्य समयमा बोल्दै साँसद चौधरीले सीमाबाट हुने तस्करीमा धनुषा प्रहरीको सँलग्न रहेको सन्दर्भमा न्यूज ब्यूरोमा समाचार प्रकाशित भएपछि न्यूज ब्यूरोका सम्पादक सहित थप दुई पत्रकार माथि प्रहरीले गाली बेईज्जतिको मुद्दा हाल्नु प्रेस स्वतन्त्रताको उपहास भएको बताएकी हुन् ।
उनले समाचार लेखेकै निहुँमा देशको चौथो अँग पत्रकार माथि मुद्दा हाल्नु लोकतन्त्रको उपहास गरेको बताईन् । उनले पत्रकारमाथि मुद्दा हाल्ने धनुषा प्रहरीका अधिकारी विरुद्ध छानविन गरेर कारवाही गर्नुपर्ने माग गरिन् । धनुषा प्रहरीले न्यूजब्यूरोका धनुषा संवाददाता अभिनय कुमार मिश्रा र स्ट्रीन्जर शम्भु पण्डित माथि समेत मुद्दा हालेको बुझिएको छ ।
धनुषा प्रहरीको प्रमुखमा भुवनेश्वर तिवारी आएपछि न्यूजब्यूरोका सम्पादक काशिन्द्र शर्मा माथि एसपीका भ्यान चालक आजाद प्रसाद यादवबाट गाली बेज्जतिको मुद्दा हाल्न लगाए भने केही दिन अगाडी मात्र तस्करी सम्बन्धी समाचार प्रकाशित गरेपछि ईलाका प्रहरी कार्यालय औरहीका बरिष्ठ सई आदित्य कुमार सिँहलाई उक्साएर गाली बेईज्जतिको मुद्दा हाल्न लगाएपछि साँसद चौधरीले सदनमा उक्त कार्यको कडा रुपमा विरोध गर्दै आपत्ती जनाइन् ।
उनले मधेश प्रदेश प्रहरी प्रमुखलाई यसबारे छानबिन गरी कारवाहीको प्रक्रिया अगाडी बढाउन माग गरिन् । कानुनमन्त्रीलाई समेत यसबारे जानकारी लिन आवाज उठाईन् ।