रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि

0 Shares

रौतहट, ३१ भदौं । सहकारीको रकम अपचलन प्रकरणमा रास्वपा अध्यक्ष एवं पूर्व गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको नष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ ।
संसदीय छानविन समितिले सरकारीको रकम गोर्खा मिडिया नेटवर्क मार्फत भएको अपचलनमा लामिछानेको सक्रिय संलग्नता रहेको पुष्टि गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेलाई कारबाहीका लागि लेखिपठाउने समितिले निर्णय गरे । सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन आज बुझाएको छ ।
समितिका सदस्य लेखनाथ दाहालका अनुसार सहकारीको रकम जीबी राईले गोर्खा मिडिया नेटवर्कमा पुर्याउने काम गरेका थिए । तर त्यसरी आएको रकम भने रवि मार्फत खर्च भएको छ । गोर्खा मिडियामा जीबी राई अध्यक्ष र रवि प्रबन्ध निर्देशक थिए ।
गोर्खा मिडियाका तीन सञ्चालक (जीबी, रवि र छविराज जोशी) ले संयुक्त खाता खोलेका थिए । तर रवि प्रबन्ध निर्देशक रहेको १४ महिनाको अवधिमा एउटा चेक बाहेक सबैमा रवि लामिछानेले नै हस्ताक्षर गरेको पाइएको छ ।
समितिका सदस्य लेखनाथ दाहाल भन्छन्, ‘गोर्खा नेटवर्क प्रालि मार्फत भएको अपचलनमा उहाँको प्रष्ट रुपमा देखियो । त्यसकारण उहाँलाई कानुनसम्मत कारबाही गर्न लेखिपठाउने सहमति भएका छौं ।’ दुई महिना लगाएर प्रतिवेदन लेखेको समितिले जम्मा दुई हजार पृष्ठको प्रतिवेदन तयार पारेको छ । दाहालका अनुसार सोधपुछ, बयान, अनुसन्धान र लेखन पछिल्लो एक महिना सँगसँगै चलेको थियो ।
सहकारी छानबिन समितिका अर्का सदस्यले बताए अनुसार रविको नाम आएपछि केही सदस्यबीच वाद–प्रतिवाद समेत चलेको थियो । मतभेदहरु बढ्दै जाँदा समितिका सभापति सूर्य थापाले सम्झाएका थिए, ‘हामी पार्टीको आरोपपत्र लेख्न बसेका होइनौं, दल विशेषमा लक्षित नबनौं, तथ्य र प्रमाण हेरौं ।’
त्यसपछि छलफल गर्दै जाँदा रास्वपा सभापति लामिछानेले तत्कालीन गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकका रुपमा खर्च गरेको सहकारीको रकमबारे समिति सदस्यहरु एकमत भएर निष्कर्षमा पुगेको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार