न्यूयोर्क, एक्स । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्यूयोर्कमा भेटवार्ता भएको छ ।
करिव ३० मिनेट सम्म भेटघाट भएको समयलाई संयुक्त राष्ट्रसंघीय महासभाले साइत जुराइ दिएको हो ।
मोदी बसेको लोट्टे न्युयोर्क प्यालेसमा प्रधानमन्त्री ओली सहितको नेपाली प्रतिनिधिमण्डल पुग्दा उनी आफ्नो भारतीय टिमसहित भेटवार्तालाई औपचारिकता दिन तयार भएको बताइएको छ ।
न्युयोर्क भेटपछि मोदीले ओलीसँगका दुई तस्बिर साझा गर्दै लेखेका छन्, ‘प्रधानमन्त्री ओलीसँग भेट भयो, भारत नेपाल भेटबाट दुबै देश विचको सम्बन्ध घनीभूत छ । यस घनिष्टतालाई अझै गति दिनेछौं । ऊर्जा, प्रविधि र व्यापारमा केन्द्रित हुँदै हाम्रो कुराकानी भयो ।
मोदीले साझा गरेका तस्बिरमा औपचारिकताको भाव नै बढ्ता रहेको देखाइएको छ । लोट्टे न्युयोर्क प्यालेसमा पनि ओली आफैंले भेटेर मोदीलाई नेपाल भ्रमणको निम्तो गरेका छन् । यसपल्ट चाहिँ मोदी चाँडै नेपाल आउने भन्दै सम्बन्ध सुधारको संकेत दिएको श्रोतले बतायो ।
‘प्रधानमन्त्रीज्यूले मोदीजीलाई नेपाल आउनका लागि निमन्त्रणा गर्नुभएको छ,’ परराष्ट्रमन्त्री आरजु राणाले भनिन्, ‘मोदीजीले चाँडै उपयुक्त समय मिलाएर म नेपाल आउँछु भन्नुभएको छ, यो निक्कै सकारात्मक र राम्रो वातावरण हो ।’
यसपल्टको ओली मोदी भेटमा बहुप्रचारित विषय ईपीजीको थियो । अर्थात् सन् १९५० को असमान सन्धि पुनरावलोकन तथा नेपाल र भारतबीच उत्पन्न कतिपय विषयको हल गर्नका लागि के गर्ने भन्ने अन्योल थियो । किनभने भारतीय पक्षले ईपीजी प्रतिवेदन बुझ्न मानेको छैन । दुवै देशका प्रधानमन्त्रीले समय निकाल्न नसकेको कूटनीतिक तर्क दिने गरेका थिए ।