लुम्बिनी र पोखरामा सिधा अवतरणका लागि थप हवाई रुट दिन भारत सरकार संग आग्रह

0 Shares

काठमाडौं, ७ भदौं । हवाई रुट बढाउनका लागि नेपाल सरकारले भारत संग पुनः आग्रह गरेको छ ।
हालै भारतमा आयोजना भएका नागरिक उड्डयन सम्बन्धी दोश्रो एसिया प्रशान्तको मन्त्री स्तरिय सम्मेलनमा नेपालबाट सहभागी भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डले थप हवाई रुटका लागि भारत सरकार संग आग्रह गरेको हो ।
नेपालको लुम्बिनी र पोखरामा रहेका अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतले थप रुट उपलब्ध नगराएका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका बताए । हाल दुवै एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेका छैनन् ।
पर्यटनमन्त्री पाण्डेले भारतका नागरिक उड्डयमन्त्री राममनोहर नायडु किन्जरापुसँगको भेटमा थप हवाई रुट उपलब्ध गराउन आग्रह गरेको भारत स्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मन्त्री पाण्डेले नेपालका विभिन्न सहरमा भारतबाट सिधा उडानका लागि आग्रह गर्दै थप एयररुट उपलब्ध गराउन आग्रह गरे ।
भारतका संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्रसिंह शेखावतसँगको भेटमा र सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पनि मन्त्री पाण्डेले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय सहरहरू बिच सिधा हवाई उडानका लागि प्रस्ताव गरेका थिए ।
नेपालको लुम्बिनी, पोखरा जस्ता सहरमा भारतबाट सिधा उडान तथा थप रुट दिने विषयमा भारतका मन्त्रीहरू सकारात्मक प्रतिक्रिया जनाएको तर त्यसमा नेपाल सरकारको तर्फबाट पहल हुनुपर्ने नेपाली दूतावासका अधिकारी बताउँछन् ।
दूतावासका एक अधिकारीले भने, ‘भारत सकारात्मक मात्र भएर हुँदैन, त्यसमा नेपालले पनि चासो लिइरहनु पर्छ । त्यसका लागि पटकपटक पहल गरिरहनु पर्छ । त्यसमा नेपाल कमजोर देखिएको बताउ ।’
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८० जेठ १७ गते गरेको भारत भ्रमणको क्रममा पनि हवाई रुटको विषयमा छलफल भएको थियो । भारत थप रुट दिन तयार पनि भएको थियो । दुवै देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि थप हवाई रुट दिन भारत सरकार सकारात्मक रहेको बताएका थिए । भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डले पनि भारतले थप हवाई रुट दिने जिकिर गर्दै त्यसमा सहमति नै भइसकेको बताएका थिए ।
तर त्यस पछि नेपालको तर्फबाट कुनै कूटनीतिक पहल नै भएन र हालसम्म त्यो एजेण्डा जस्ताको त्यस्तै थन्किएको छ ।
पर्यटनमन्त्री पाण्डेले भारत भ्रमणका क्रममा यो विषय प्राथमिकता साथ उठाए । तर उनी फर्किसके पछि त्यसतर्फ कति पहल हुन्छ र परिणाम कहिले देखिन्छ भन्ने चासोको विषय बनेको छ ।
भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय सीमा नजिक भएकाले मौसम लगायतका कारणले भारतीय हवाई क्षेत्रमा जहाजहरू पुग्नसक्ने अवस्था हुन आउछ । त्यसलाई सम्बोधन गर्न भारतले प्रतिबद्धता जनाएको तत्कालीन प्रधानमन्त्री प्रचण्डले त्यतिबेला नै पत्रकारहरूलाई जानकारी गराएका थिए ।
नेपाल–भारतबिच हुने हरेक उच्चस्तरीय भ्रमणमा हवाई रुटको विषय उठ्ने गरेको छ । भारतले रुट उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउँदै आएको छ । तर अवस्थामा केही सुधार भएको छैन ।
भैरहवामा इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) को विषयलाई लिएर दुई देशका संयुक्त प्राविधिक टोलीको बैठक बस्ने र त्यसले गर्ने सिफारिसका आधारमा निर्णय गर्ने सहमति भएको थियो । तर त्यसमा हालसम्म कुनै छलफल भएको छैन ।
२०८० पुसमा भारतीय विदेशमन्त्री एस.जयशंकर नेपाल भ्रमणमा आएको आएको बेला हवाई रुटको विषयमा पुनः चर्चा भएको थियो । उनले परराष्ट्र मन्त्रालयमार्फत पर्यटन मन्त्रालयसँग हवाई रुटको बारेमा सुझाव माग गरेका थिए । पर्यटन मन्त्रालयले त्यसको जवाफ पनि पठाएको थियो । त्यसपछि हालसम्म भारतबाट कुनै प्रतिक्रिया आएको छैन ।
सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा हवाई रुटको विषयमा सहमति भएको थियो । दुवै देशका सम्बन्धित अधिकारीलाई ६ महिनाभित्र यसलाई टुङ्ग्याउन त्यतिबेला निर्देशन दिइएको थियो । त्यो निर्देशन दिएको १० वर्ष भइसक्दा समेत कुरा जहाँको त्यहीँ छ ।
भारतले गोरखपुरमा रहेको सैनिक ब्यारेक माथि हवाई क्षेत्र पर्ने भएकाले भैरहवामा विमान प्रवेश बिन्दु उपलब्ध गराउन नचाहेको जानकारहरू बताउँछन् ।
‘भारतले सम्पूर्ण सीमा क्षेत्रको सुरक्षा जिम्मा आर्मीलाई दिएको छ । त्यस वरिपरिबाट उडान अनुमति दिन आर्मीको अनुमति लिनुपर्छ । आर्मीले अनुमति दिएमात्र राजनीतिक नेतृत्वबाट केही गर्न सकिने जवाफ भारतले दिने गरेको छ,’ पर्यटन मन्त्रालयका एक सहसचिवले भने ।
भारतले थप रुट दिएन भने पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले खासै फाइदा लिन सक्दैनन् । हाल भारतले नेपाली वायुसेवाहरूलाई सिमरा हुँदै प्रवेश अनुमति दिएको छ । अर्को रुट नदिएसम्म पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि सोही रुट प्रयोग गर्नुपर्छ । त्यो रुट प्रयोग गर्दा हवाई उडान महँगो हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार