वरियारपुर (बारा), १४ असोज । नेपाली काँग्रेस मधेश प्रदेशका सभापति एवं पूर्व मन्त्री कृष्णप्रसाद यादवले विश्वकै ठूलो बलि सहितको मेलाको रुपमा प्रख्यात रहेका गढिमाई मेलालाई सम्पन्न गराउन हामी सबैको दायित्व रहेको चर्चा गरे ।
गढिमाईको पञ्चबर्षिय मेला तथा मुल व्यवस्थापन समितिको सोमवार सार्वजनिकिकरण समारोहका प्रमुख अतिथिको रुपमा उपस्थित रहनु भएका नेपाली काँग्रेस मधेश प्रदेशका सभापति यादवले विश्वमै मधेश प्रदेशको वारा जिल्लाको नाम स्वर्णीम अक्षरमा लेखिएको हुँदा उक्त कार्यलाई अक्षुर्ण राख्दै आउने दिनमा लाग्ने मेलालाई सभ्य एवं भव्य बनाई यहाँका नागरिकहरुले विश्वमा आफनो परचम लहराउने अपेक्षा समेत उलने गरे ।
वरियारपुरमा लाग्ने गढिमाई मेला कुनै चानचुने मेला होइन यो मेला नेपाल सरकारको पनि प्रतिष्ठाको विषय भएको हुँदा मेला मुल व्यवस्थापन समिति संग समन्वय राखी यहाँको सुरक्षा सहितका अन्य अत्यावस्यक कार्यमा सहयोग पुर्याउनु पर्नेमा जोड दिए ।
मेलामा आउने लाखौं लाख श्रद्धालु भक्तजनहरुलाई व्यवस्थित बनाउन यहाँका नगरबासीहरुको पनि त्यतीकै दायित्व रहने चर्चा गर्दै सभापति यादवले गढिमाई प्रतिको आस्था र विश्वासमा दिनानुदिन बढ्दै गएको हुँदा यस क्षेत्रलाई अझ व्यवस्थित गर्नुपर्ने बताए ।
महागढिमाई नगरपालिकाको नगरप्रमुख तथा मेला मुल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कलैया उपमहानगरपालिकाको नगरप्रमुख, कोल्भी नगरपालिकाको नगरप्रमुख लगायतका विभिन्न स्थानीय तहका प्रमुखहरु, महागढिमाईका उपनगरप्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत विजयप्रसाद कुशवाहा सहितका व्यक्तिहरुको उपस्थिति रहेको प्रचार प्रसार समितिका संयोजक नितेशकुमार गुप्ताले जानकारी दिए ।