तराई टप संवाददाता
रौतहट, १४ कार्तिक । भारत संग जोडिएको सिमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न नेपालले भारत संग प्रस्ताव गर्ने भएको छ ।
नेपाल सरकारले सीमा सुरक्षामा कडाइ गर्दै दुवै देशका नागरिकलाई सीमा क्षेत्रबाट आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्न भारत सरकार सँग प्रस्ताव गर्ने तयारी भईरहेको हो ।
नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध रुपमा नेपालमा घुसपैठ गर्नेको संख्यामा बढोत्तरी हुन थाल्दा सुरक्षा चुनौती बढेको भन्दै नेपाल सरकारले भारत सरकार समक्ष सो प्रस्ताव गर्ने तयारीमा जुटेको गृह मन्त्रालयको श्रोतबाट बुझिएको छ ।
खुला सीमा नाकाको फाइदा उठाउँदै अफगानिस्तान, म्यान्मार लगायत विभिन्न मुलुकहरुबाट नेपाल पसेकाहरू शरणार्थीका रूपमा यहीं बसोबास गर्न थालेपछि गृह मन्त्रालयले सरोकारवाला निकायहरूसँग छलफल गरेको थियो ।
त्यसैक्रममा नेपाल–भारत दुवै देशका नागरिकलाई आवतजावतका गर्नका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने र त्यसको लागि कूटनीतिक पहल थाल्नुपर्ने सुझाव आएको छ । दुई देशका नागरिक आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने विषय छलफलमा उठेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।