छठ पुजा आज देखि शुभारम्भ

434 Shares

तराई टप संवाददाता
रौतहट, २२ कार्तिक । लोक आस्थाको पर्व छठ पुजा सोमवार देखि विधिवत रुपमा शुभारम्भ भएको छ ।
तराई मधेशका क्षेत्र सहित मिथिलाञ्चलमा मनाईने ओक आस्थाको चार दिन सम्म मनाइने छठ पुजाको पर्व आज देखि विधिवत रुपमा शुभारम्भ भएको हो । कार्तिक शुल्क चतुर्दशीको दिनबाट सुरु भई सप्तमी तिथीमा सकिने यस पर्वलाई निकै विधि विधान एवं शुद्धता साथ मनाइने गरिएका छन् ।
छठको पहिलो दिनलाई “नहाय खाय” भनिन्छ । आजको दिनमा छठ पुजा गर्ने व्रतालु महिला एवं पुरुषहरु घरमा सर सफाई गरेर नुहाई शुद्ध साकाहारी भोगज ग्रहण गर्ने गर्दछ । आजको दिनमा व्रतालु महिला एवं पुरुषहरु सहितका घरका सम्पूर्ण सदस्यहरु चोखो खाना खाने गर्दछन् ।
कार्तिक महिना लाग्ने वित्तिकै ब्रतालुहरु सप्तमी तिथि सम्म माछामासु, लहसुन, प्याद कोदो आदीको भोजन गर्दैनन । छठ पुजा सरु भएको देखि ब्रतालुहरु सात्वीक भोजन मात्रै गर्नेगर्दछन् । कार्तिक शुक्ल पंचमी तिथिका दिनलाई खडना भनिन्छ । यस दिनमा ब्रतालु महिलाहरु दिनभरी निराधार भई साँझ सुर्य भगवानको स्मरण गर्दै खिर, पुरी, केला, मिठाई, मुरई लगायतको विभिन्न परिकारबाट सजिएका पर्साद चढाएपछि मात्रै मिष्ठान भोजन व्रतालुहरु गर्ने गर्दछन् ।
षष्ठी तिथिका दिन घरमै व्रतालु महिलाहरु गुण, चिनी, सुजी मैदाबाट निर्मित पकवानहरु बनाएर खोला किनार वा पोखरी एवं जलासयको किनारमा गई सुर्यास्त भईरहेको सुर्यलाई अर्घ दिएपछि सझिया घाटको महत्व हुने गरेको छ भने भोली पल्ट अर्थात कार्तिक शुक्ल सप्तमी तिथिको दिन उदाईरहेको सुर्यलाई अर्घ दिई पुजा पाठ गरी लोक आस्थाको चार दिने पर्व छठ सम्पन्न हुने गर्दछ ।
छठमा विशेष गरी प्रकृतिको छैटौ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवतमा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथामा उल्लेख छ । छठ पुजालाई एउटा कठिन व्रत र उपवासको रुपमा लिइन्छ । छठको व्रत बस्दा चोखो निधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रहेका छन् ।
परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरेको इतिहास छ । त्रेतायुगमा रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ । त्यस्तै द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख गरिएको छ । छठ पर्व तराई मधेशसहित पछिल्लो दशकदेखि काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार