रौतहट, २० कार्तिक । लोक आस्थाको पर्वमा सुर्यको उपासना गरेर मनाइने चार दिवसीय छठी मइयाको पुजा आज देखि विधिवत रुपमा सुरु भएको छ ।
सुर्यको उपासना गरेर, चोखो रुपमा पूर्ण सुद्धभएर छठी मइयाको पर्व मनाएर परिवारमा सुख समृद्धि, शान्ति, वैभव एवं एैश्वर्यका लागि तराई मधेश सहित विश्वभरी मनाइने छठी मइयाको पर्व आज देखि विधिवत रुपमा सुरु भएको हो ।
हरेक वर्ष कात्तिक महिना शुक्ल पक्षको चौंथी तिथिबाट नहाय खाय गरेर सुरु हुने यस लोक आस्थाको महापर्वको मंगलवार पहिलो दिन ब्रतालु सहित घरका सम्पूर्ण सदस्यहरु पवित्र जलाशय, चापा कल लगायतका विभिन्न स्थानमा नुहाएर चोखो खाना खाएर सुरुआत गरिन्छ ।
सूर्यलाई ऊर्जाको श्रोत मानिने भएकाले छठ पुजामा विशेष रुपमा सुर्यको उपासना गरिन्छ । सूर्य उपासनाले स्वास्थ्य, मानसिक शान्ति, तथा रोगमुक्त जीवन पाउने विश्वास गरिन्छ । विशेष गरी, सूर्यबाट प्राप्त हुने ऊर्जाले समृद्धि हुन्े र रोग प्रतिरोधात्मक क्षमता पनि बढ्ने मान्यता रहेको छ । सूर्यको पूजा गर्दै गर्दा छठ पर्वलाई सन्तानको दीर्घायु, परिवारको समृद्धि, र सुखका लागि अति महत्वपूर्ण धार्मिक उत्सव मानिन्छ ।
पहिलो दिन – नहाय खाय
पर्वको पहिलो दिनलाई “नहाय खाय” भनिन्छ । यस दिन व्रतालुहरू स्नान गरी शुद्ध भोजन ग्रहण गर्छन्, जसलाई आत्म शुद्धि र आध्यात्मिक तयारीको दिन मानिन्छ । पर्वको सुरुवात यस दिनबाट हुन्छ र यसले अनुशासन र धार्मिक निष्ठाको पालना गरिन्छ ।
दोस्रो दिन – खरना
दोस्रो दिन, जसलाई खरना भनिन्छ, व्रतालुहरूले दिनभर निर्जल उपवास गरी साँझपख चन्द्रमाको दर्शनपछि मात्र उपवास तोड्छन् । माटोको चुल्होमा पकाइएको खीरलाई केराको पातमा राखेर छठ मातालाई चढाउने परम्परा छ । खरना धार्मिक श्रद्धा र मानसिक शक्ति बढाउने दिन हो, जसमा व्रतालुले पूर्ण संयमता राखी पूजा गर्छन् ।
तेस्रो दिन – अस्ताउँदो सूर्यलाई अर्घ
छठको तेस्रो दिन, व्रतालुले अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ अर्पण गर्छन् । सूर्यलाई अस्ताउँदो र उदाउँदो दुवै बेला अर्घ अर्पण गर्ने प्रथा अनन्त जीवन चक्र र समयको महत्वलाई सङ्केत गर्छ । यस दिन, व्रतालुहरू परिवार र सन्तानको सुख–समृद्धि र स्वास्थ्यको कामना गर्दै अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् ।
चौथो दिन – उदाउँदो सूर्यलाई अर्घ र पर्वको समापन
अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । यस दिन व्रतालुले जलाशयमा पुगेर सूर्यलाई अर्घ अर्पण गरेर व्रत समापन गर्छन् । यो दिन पारिवारिक सुख, सन्तानको दीर्घायु, तथा समाजको कल्याणका लागि विशेष प्रार्थना गरिन्छ ।
छठ पर्वमा सूर्यको पूजा, जलाशयमा अर्घ अर्पण, र शुद्धताको परम्परा रहेकोले यसलाई वातावरण, जीवनको हरियाली, र परिवारप्रतिको प्रेम तथा समर्पणको पर्वका रूपमा विशेष मान्यता दिइन्छ ।