पदको दुरुपयोग गर्दै करोडौको सम्पती जोड्ने गुप्ता विरुद्ध अख्तियारको डण्डा

643 Shares

रौतहट, २६ कार्तिक । सरकारी सेवामा रहेर पदको दुरुपयोग गर्दै एक अर्व भन्दा अकुत सम्पती जोड्ने मदन प्रसाद गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
रौतहट सदरमुकाम गौर स्थायी ठेगाना भएको नायव सुब्बा मदनप्रसाद गुप्ता सरकारी जागिरमा प्रवेश गरेको २९ बर्षमै पदको दुरुपयोग गर्दै गैर कानुनी रुपमा अकुत सम्पत्ती जोडेको रहस्य अख्तियार दुरुपयोग अनुसन्धानको छानविन एवं अनुसन्धानबाट सार्वजनिक भएको हो ।
सिमरा मालपोत कार्यालयका तत्कालीन निमित्त प्रमुख गुप्ताले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा करोडौं करोडको सम्पत्ति जोडेको अख्तियारले जानकारी दिएको छ । उनले कमाएको अकुत सम्पत्ति श्रीमती रीतादेवी¸ छोराहरु विक्की गुप्ता र रकी गुप्ता, अन्य व्यक्तिहरु कविता कुमारी¸ राजेशकुमार गुप्ता¸ जुगुली प्रसाद र जगतनारायण यादवको नाममा राखेको तथा विभिन्न ठाउँमा लगानी गरेको पाइएको अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।
गुप्ता २०४७ असार २७ गते मालपोत कार्यालय मुस्ताङ्गबाट खरिदारको पदमा सेवा प्रवेश गरी २०६४ सालमा नायव सुब्बाको पदमा वढुवा भई मालपोत कार्यालय पर्सा हुँदै मालपोत कार्यालय सिमरामा निमित्त कार्यालय प्रमुखका रुपमा कार्यरत थिए । उनले सेवा प्रवेश देखि आव २०७५÷०७६ सम्मको अवधिलाई जाँच अवधि लिएर अनुसन्धान गर्दा पारिश्रमिक बचत आय र घर जग्गा बिक्री र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा र छोरा रकी गुप्ताको आय र घर बहाल आय समेत गरी ४ करोड ५४ लाख ७२ हजार २ सय ४६ वैध आय आर्जन भए गरेको पाइएको अख्तियारले जनाएको छ ।
गुप्ताले परिवारका सदस्यहरुका नाममा घर खरिद तथा निर्माणमा ४ करोड ८ लाख ५१ हजार, जग्ग्गा खरिदमा ९० लाख १४ हजार १ सय, बैंक तथा वित्तीय संस्थाहरुबाट लिइएका कर्जा र कर्जा चुक्ता समेतमा ३ करोड २७ लाख ४५ हजार १२ रुपैयाँ, पुँजीगत लगायतका कर शीर्षकमा ९ लाख ७० हजार २ सय ६० रुपैयाँ लगानी तथा खर्च गरेको पाइएको थियो। त्यसैगरी सवारी साधन खरिदमा २७ लाख ६२ हजार ५ सय, पार्वती स्टेसनरी र गायत्री निशान अटो कर्प प्रालि र नेपाल रोडसाइड एसिस्टेन्स समेतका व्यवसायहरुमा ७१ लाख, सापटी दिएको ४३ लाख ५ रुपैयाँ दिइएको पाइएको अख्तियारले जनाएको छ।
अर्बको भ्रष्टाचार, जताततै सम्पति
मालपोतमा काम गर्ने नायब सुब्बासरहको कर्मचारी रहेका गुप्ताले १ अर्ब ५० करोड रुपैयाँ बराबरको सम्पति जोडेको स्रोत बताउँछ ।
स्रोतका अनुसार गुप्ताले छोरी र ज्वाईको नाममा करोडौं अकुत सम्पति जोडेको, सुन्धारास्थित ७ तले लण्डन होटलमा लगानी गरेको, आफ्ना मतियार र सहयोगीहरुका नाममा वीरगञ्जका विभिन्न स्थानमा १६ कित्ता जग्गा र पक्की घरहरु रहेको, मातपोत राजस्व अपचलन गरेको करोडौं रुपैयाँ रकम ब्याजमा लगाएको प्रमाण भेटिएको छ ।

सम्बन्धित समाचार