तराई टप संवाददाता
रौतहट, २८ कार्तिक । रौतहटको यमुनामाई गाउँपालिकाको झुन्खुनवा चोक नजिक शनिवार राति कार दुर्घटना हँुदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ ।
गौर चन्द्रपुर सड्क खण्ड अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुनवा चोक स्थित पेट्रोल पम्प भन्दा २ सय मिटर उत्तर तर्फ गौर तर्फ आउदै गरेका युके १२ सि २९०० नम्वरको भारतीय नम्वरको स्वीफ्ट कार गए राति १० बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुँदा चार जना भारतीय नागरिकको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
मदिरा सेवन गरेर अत्याधिक गतिमा गुडिरहेको कार अनियन्त्रित भई पल्टिदा सडक भन्दा २० मिटर छेउमै रहेको पोखरीमा कार डुबेपछि बम नहरमा सुरक्षा चेकजाँचमा रहेका सुरक्षाकर्मीहरु तत्काल घटनास्थलमा पुगेर कारमा रहेका व्यक्तिहरुलाई बचाउन निकै प्रयास गरिएपनि सफल भईएन, उनीहरलाई कारको अगाडीको सिसा फुटाएर निकाल्दा चारैको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले जानकारी दिए ।
मृतक चारै जनाको खल्तिबाट आइडी कार्ड बरामद भएको छ । भारत विहार राज्यको पुर्वी चम्पारण जिल्लाको पताही थाना वेतौना घर भएका २५ बर्षिय दिनानाथ साह, ३० बर्षिय अरुण साह, २८ बर्षिय दिलिप महतो र २७ बर्षिय अमित महतो रुपमा सनाखत भएको एसपी घिमिरेले बताए । उनीहरुको यथार्थ पहिचानको लागि भारतीय प्रहरीलाई तस्वीर सहितको म्यासेज पत्राचार गरिएपछि आज विहान उनीहरुको परिवारजन आएपछि सनाखत भएको उनले स्पष्ट पारे ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्वर ४ स्थित नरेश साह भिनाजुको घरमा छठको पर्साद पुर्याउन आएका नरेश संग उनका आफन्तहरुलाई रातिको समयमा रोक्ने निकै प्रयास गरेपनि उनीहरु नमानी निस्केपछि यस्तो दुखद घटना भएको प्रहरी श्रोतबाट बुझिएको छ ।
दुर्घनाग्रत भएको कारलाई गहिरो पानीबाट राति नै प्रहरीले क्रेनको सहाराबाट निकालिएका थिए । अत्याधिक मदिरा सेवन गरेर गाडी चलाएको अवस्थामा कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताए । घटनाको विषयमा गहन रुपमा अन्सन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।