काठमाडौं । उर्जाको क्षेत्रमा नयाँ क्रान्ति ल्याउने उदेश्यका साथ मुलुकको विभिन्न स्थानहरुमा विस्तार भईरहेका भुमिगत प्रसारण लाइनमा मापदण्ड नपुगेका (फलेग्जीवल पाइप) को प्रयोग भईरहेको पाइएका छन् ।
नेपाल विद्युत प्राधिरणबाट तोकिएको मापदण्ड विपरित ठेक्का पाएका टाटा प्रोजेक्ट लिमिटेडले कार्य गरिरहदा पनि प्राधिकरणले ठोस रुपमा कडाई नगर्दा कतै ठेकेदार संगको प्राधिकरणको मिलोमतो गरेको आशंका उब्जीएका हुन् ।
भुमिगत प्रसारण लाईन विस्तारको कार्य ललितपुर–भक्तपुर, पोखरा–भरतपुर तथा मधेश प्रदेशको आठ वटै जिल्लामा आयोजनाको रुपमा संचालनमा रहेका छन् । उक्त अभियान ललितपुर–भक्तपुर, पोखरा–भरतपुर मा एशियाली विकास बैंक (एडीबी) र मधेश प्रदेशमा पाँच वटा परियोजनामा एडीबी, नर्वे लगानीमा विस्तार कार्य भईरहेको बुझिएका हुन् ।
भूमिगत प्रसारण लाइनमा न्यून गुणस्तरको तार (कन्डक्टर) राख्ने पाइप (फ्लेकिबल पाइप) प्रयोग भएको अहिले मुख्यतः ललितपुर, भक्तपुरमा देखिएका छन् । कम गुणस्तरको पाइप उत्पादन भई आयात हुनु र त्यही प्रयोगबाट भविष्यमा ठूलो नोक्सानी पुर्याउन सक्ने विज्ञहरु बताउँछन् ।
हाल भूमिगत लाइन विस्तार भइरहेका ठाउँमा ६ मिटरको पाइप २५ केजी हुनुपर्ने मापदण्ड रहेको छ तर त्यसको तौलमा १ देखि १.५ किलोग्राम र पाइपको थिकनेस (मोटाई) १ देखि १.२५ एमएम सम्म कम रहेको पाइएको छ । दुई प्रकारको पाइपको प्रयोग भईरहेको पाइएको छ । ६ इन्च र ४ इन्च मोटाई भएको पाईप प्रयोग भईरहेको श्रोतले बतायो । बढि सप्लाई ४ इन्चको पाइप भएको हुँदा यसैमा बढि समस्या देखिएका छन् ।
मापदण्ड अनुसार ६ मिटरको पाइपको टुक्रा मोटाई (थिकनेस) सरदर बराबर हुनुपर्ने तर पाइपको दुबै तर्फ ठिक भएपनि बिचमा कम हुँदा केबल कण्डक्टर छिराउदा फुटिरहेको समस्या आएपछि नर्मली चेकजाँच गर्दा पाईपको बिच भागमा रहेका थिकनेसमा कमी आएपछि मापदण्ड विपरित कार्य भईरहेको रहस्य खुलेपछि यसलाई भित्री रुपमा सल्टाउने चलखेल भईरहेको ती श्रोतले दाबी गरे ।
एशियाली बिकास बैंक (एडीबी) को सहयोगमा भुमिगत तर विस्तार (प्रशारण लाईन) आयोजनामा यसप्रकारको लापरवाही एवं अनियमितता हुनु तथा विकास साझेदारको प्रतिक्रिया समेत बाहिर नआउनु एवं ठूलठूला मिडियाहरुले चुप्पी साध्नुबाट नेपालको लागि अति महत्वाकाँक्षी परियोजनामा आर्थिक चलखेल एवं अपार्दर्शिताको शंका उत्पन्न गराएको उर्जा श्रोतले बतायो ।
यी सबै कामको रेखदेख गर्ने निकाय आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गतको वितरण लाईन सवस्टेशन विभाग अन्तर्गत भईरहेका छन् । पाइपमा तार भएको कण्डक्टर तन्काउने क्रममा कम मापदण्डको पाइप फुटेपछि परिक्षण गर्दा कम गुणस्तरको पाइएको रिपोर्टमा उल्लेख गरिएका छन् ।
ललितपुर–भक्तपुर, पोखरा–भरतपुर तथा मधेश प्रदेशको पाँच आयोजनाको कार्य गर्न ठेक्का ईपीसी (ईन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन अर्थात अध्ययन, खरिद र निर्माण) मोडलमा भारतीय कम्पनी टाटा पावर लिमिटेडले पाएको बताइएको छ । परामर्शदाताको जिम्मेवारी भारतकै ग्रिड इन्डियाले लिएको छ ।
यस्तै, पाइप उत्पादक भारत जयपुरको तिजोरिया पोलिपाइप लिमिटेड र मोहित पाइप पोलिटेक जयपुरको रहेको छ । प्राधिकरण, टाटा पावर र पाइप उत्पादक तिन वटै निकायको संलग्नता विना गुणस्तरमा यति सम्म लापरवाही हुन नसक्ने उर्जा क्षेत्रका विज्ञ इन्जिनियरहरुले प्रश्न गरेका छन् प्राधिकरण संग ।
यस्ता समस्या करिब साढ ४ महिना अगाडि नै देखिए पनि यसलाई अहिले सम्म सञ्चालक समितिमा लगेर छलफलसम्म नगरेको प्राधिकरण स्रोतले जानकारी दिए । ठेकेदारले १२५ र १६० एमएम (मिलिमिटर) को पाइप ल्याएकोमा १६० एमएममा बढी समस्या देखिएको छ, यस्ता पाईपहरु वर्दिवास सहित विभिन्न स्थानमा राखिएको छ र कतिपय पाइप अझै सुख्खा बन्दरगाह वीरगञ्जमै थन्किएको बताइएका छन् ।
मधेशमा पनि झोल, त्रिपक्षिय मिलोमतोको आशंका
यसैगरी मधेश प्रदेशमा पाँच लटमा विभाजन गरी भूमिगत लाइन विस्तार आयोजना संचालनमा रहेको छ । मधेसमा चार वटा लटमा काम भईरहेको छ, जसमा मापदण्ड भन्दा कम तौल र लम्बाइ भएको पाइपको आयात भएको पाइएको छ । तोकिएको गुणस्तर एवं मापदण्ड भन्दा कमको पाइप उत्पादन भई आयात हुनु र त्यही प्रयोग गर्नुले प्राधिकरण, पाइप उत्पादक र टाटा पावरको मिलोमतोको आशंकालाई बल दिएको ति श्रोतले दाबी गरेका छन् ।
ललितपुर–भक्तपुर, भरतपुर–पोखरामा जस्तै मधेसमा पनि नेपाल आएको पाइपको तौलमा १ देखि १.५ केजी र पाइपको मोटाइ (थिकनेस) १ देखि १.२५ एमएम सम्म कम पाइएको छ ।
यसरी मापदण्ड भन्दा न्यून गुणस्तरको पाइप प्रयोगमा आएर समस्य उत्पन्न भएपछि भित्री रुपमा इन्जिनियरहरु भविष्यमा यो विद्युतिय धराप हुनसक्ने शंका व्यक्त गरेपछि आयोजनाले पाइपको परिक्षण गराउन तयार भएको बुझिएको छ । परीक्षणका लागि लखनउ स्थित सिपेट (सिआइसिइटी) ल्याबमा पठाउने तयारी भइरहेको जनाइए तापनि पाइप उत्पादक कम्पनीको जयपुरमा रहेका ल्याबमा पठाउने भित्री साँठगाँठ देखिएको ति श्रोतको दाबी छ ।
“न्यून गुणस्तर भेटिएका सबै पठाउनुपर्ने हो तर मोटाइ वा तौल पुगेको भागको एक–दुई नमुना मात्र पठाई भएको ठूलो चलखेललाई ढाकछोप गर्ने प्रयास भइरहेको छ,” श्रोतले भन्यो । पछिल्ली समय थाहा नपाइने गरी कामको गुणस्तरमा निकै लापरबाही भएको यतिखेर आरोप लगेका छन् ।
यस बिषयमा प्रमुख वितरण लाइन तथा सव स्टेशन विभाग तथा भुमिगत प्रसारण लाईन आयोजना प्रमुख बोधराज ढकालले पाइपको थिकनेसमा समस्या आएको स्वीकार्य गर्दै परिक्षणका लागि लखनउ ल्याबमा पठाइएको बताए । यसमा कुनै चलखेल भएको छैनन् गुणतरहिन पाइपको कदापी प्रयोग हुदैनन्, हाम्रो विज्ञहरुको टोली निगरानी गरिरहेको र ल्याबको रिपोर्ट आएपछि सबै थाहा भईहाल्छ उनले भने ।
पाइपको थिकनेसमा कमि आउनु कतै प्राधिकरण, टाटा र पाइप उत्पादक बीचको आर्थिक चलखेलको साँठगाँठ त छैन भने प्रश्नको जवाफमा प्रमुख ढकालले चलखेल जस्ता भाषा पत्रकारहरुको हो, हामी परिक्षणका लागि पठाएका छौं रिपोर्ट आएपछि केही जानकारी गराउने छौं तर जानी जानी हामी गलत काम गर्दैनौं ढुक्क हुनुस उनले स्पष्ट पारे ।
स्मरणीय छ की, एशियाली विकास बैंक र नर्वे सरकारका अर्बौंको लगानीमा यसरी कम मापदण्ड भएको पाइपको प्रयोग गरेर तिन पक्षिय आर्थिक चलखेललाई समयमै सम्बध निकायले रोक्नु जारुरी देखिन्छ । यहाँ तिजोरिया पोली पाइप र मोहित पाइप पोलिटेक जयपुरले नेपालमा सपलाई गरेका पाइपको विशेषज्ञको रोहवरमा चेकजाँच गराई साँठगाँठ राख्ने ठेक्केदार, सप्लायर्सलाई कानुनी दायरमा ल्याई भुमिगत प्रसारण लाईनलाई व्यवस्थित बनाउन उर्जा विज्ञहरुको राय रहेको छ ।