राधेश्याम कुशवाहा
सर्लाही, २९ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य उदय शमशेर जबराले वर्तमान अवस्थामा दुई ठूला दल मिलेर सरकार बनाउनुको विकल्प नरहेको हुँदा नेकपा एमाले र काँग्रेस बीच सत्ताको गठबन्धन भएको बताए ।
अहिलेको निर्वाचन प्रणालीले कुनैपनि दलको बहुमत प्राप्त गर्न नसकेको तथा बाध्यतावस देशलाई ठोस निकास दिने हेतु एमाले र काँग्रेसको गठबन्धनको सरकार बनेको स्पष्ट पारे ।
नेपाली कांग्रेस सर्लाही क्षेत्र नं १ (क) को आयोजनामा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सोमवार लालबन्दीमा सम्बोधन गर्दै केन्द्रीय सदस्य जबराले प्रदेश र संघ सरकारमा स्थायीत्व नभएको हुदा पनि दुई ठुला पार्टी मिल्नु परेको बताए ।
हाम्रो देशमा ६ महिनामा नै सरकार ढलेपछी विकास निर्माणको काम सुस्त गतिमा भएको जिकिर समेत उनले गरे । एमाले र कांग्रेस गठबन्धन बनाउन कहिले पनि सोच एवं मानसिकता बनाएको थिएन तर स्थिर सरकारको निम्ति दुई ठुला दल मिलेर सरकार चलाइरहेको बताए ।
फरक प्रसंगमा बोल्दै मध्यम बर्गको लागि सहकारीको आवश्यकता भएको महसुस गरे । पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध राजनीतिक रुपमा कांग्रेसले आक्रमण नगरेको बताए । उनले सहकारीको नाममा हिनामिना गर्ने व्यक्तिलाई र सहकारीको व्यवस्थापन गर्न कांग्रेस सहकारी पिडीतको आवाज बन्ने प्रयास गरेको स्पष्ट पारे ।
मधेस केन्द्रित दलको बदमासीका कारण पनि तराई मधेश दृत मार्ग र निजगढ अन्तर्राष्टिय विमान स्थल बन्न नसकेको दोष लगाए । सर्लाही कांग्रेसका लागि सम्भावना भएको जिल्ला भएको बताए । सर्लाहीको विवाद केन्द्रले होइन जिल्लामै मिलाउन सकनुपर्छ बिबाद मिलाए सर्लाहीमा कांग्रेस बलियो बन्नेछ ।
जिल्ला समन्वय समितिका सभापति कौशल किसोर सिंहले स्थानीय तहमा छाडापन बढेको बताए । स्थानीय तहको बेथिति हटाउन संघ र प्रदेश जस्तै ह्विप लगाउन आवश्यक रहेको जिल्ला समन्वय समिति सभापति सिंहले भने ।
नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति तथा पुर्व मन्त्री विरेन्द्र प्रसाद सिंह, पुर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठ लगायत नेपाली काँग्रेसका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।