रौतहट, १६ माघ । मौनी अमावस्याका दिन अमृत स्नान गर्न प्रयागराजमा जारी कुम्भ मेलामा १ बजे राति भागदौड मच्चिदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौं श्रद्धालुभक्तजनहरु घाइते भएका छन् ।
भारतीय समाचार एजेन्सीहरुका अनुसार भारतको उत्तरप्रदेश स्थित प्रयागराजमा जारी रहेका कुम्भ मेलामा आज मौनी अमावस्याका दिन स्नान गर्ने श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति भएपछि भागदौड हुँदा उक्त घटना भएको बताइएका हुन् ।
भारतीय मिडिया द हिन्दु का अनुसार १५ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको समाचार लेखेको छ । उसले आफ्नो सम्वाददातालाई उद्धृत गर्दै स्वरुपरानी अस्पतालमा पोष्टमार्टमका लागि १४ शव ल्याइसकिएको उल्लेख गरेको छ ।
मृतकको संख्या फरक फरक आइरहे पनि सरकारी निकायबाट भने औपचारिक जानकारी दिइएको छैन । घटनापछि अमृत स्नान केही समय स्थगित गरिएपनि स्नान सुचारु भएको छ तर साधु सन्तहरु आजको स्नान गर्ने कार्यक्रमलाई स्थगीत गर्दै बसन्तपञ्चमीको स्नान गर्ने निर्णय लिएको बताइएको छ । अपेक्षा भन्दा अत्याधिक मानिसहरुको अप्रत्याशित भिडलाई मध्यनजर राख्दै निर्माणी घाटका साधुसन्तले उक्त निर्णय गरेपछि सम्पूर्ण साधुहरुको अखाडाले यस्तो निर्णय लिएको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।
१३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । आज बुधबारको दिन मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो ।
तर मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । धेरै व्यक्तिहरुको भिडमा कुल्चिएर ज्यान गएको छ । मानिसहरुको भागाभाग भएपछि स्थानीय प्रशासनले ब्यारिकेडहरु हटाएर सडक खुला गरेको छ ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सम्पर्क गरी घटनाबारे जानकारी लिए । घटना लगत्तै मुख्यमन्त्री योगी आदित्यनाथले संगम स्थानतर्फ जाने प्रयास नगरी गंगा किनारमा जो जहाँनिर छ, त्यही स्नान गर्न आह्वान गरेका छन् । उनले प्रशासनको निर्देशन पालना गर्न र अफवाहमा ध्यान नदिन पनि अनुरोध गरे ।
मेलाका लागि विशेष कर्तव्य अधिकृत आकांक्षा राणाले भनिन्, “संगममा अवरोध (ब्यारिकेट) भत्किएपछि केही घाइते भएका र अस्पताल भर्ना भएका छन् । घाइतेहरुको यकिन तथ्यांक आउन बाँकी छ ।”
मौनी अमावस्यामा अमृत स्नान महाकुम्भको सबैभन्दा महत्वपूर्ण अनुष्ठान हो र लगभग १० करोड तीर्थयात्रीहरू आकर्षित हुने अपेक्षा गरिएको छ ।
विभिन्न एजेन्सीहरुको सहयोगमा तयार पारिएका समाचार