पर्सा, १८ माघ । जीर्ण भवनमा बसेर विरामीहरुलाई सेवा दिन नसक्ने भन्दै नारायणी अस्पताल वीरगञ्जमा कार्यरत रहेका चिकित्सक, स्वास्थ्यकर्मी, नागरिकि समाज तथा स्थानीयबासीले आन्दोलन सुरु गरेका छन् ।
मधेश प्रदेशकै प्रख्यात रहेका नारायणी अस्पताल जीर्ण अवस्थामा पुगिसक्दा पनि संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउन आन्दोलन सुरु गरिएका हुन् ।
शुक्रवार अस्पताल परिसरमा चिकित्सकसहित स्वास्थ्यकर्मीहरूले संघर्ष समिति नै गठन गरेर धर्ना दिँदै सरकारको ध्यानाकर्षण गराए । अस्पतालको संरचना भूकम्पीय दृष्टिले अति जोखिमपूर्ण छ, तर सरकार यसप्रति गम्भीर नबनेको भन्दै चिकित्सकहरूले आक्रोश व्यक्त गरे ।
संघर्ष समितिका अध्यक्ष समेत रहेका नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. नीरज कुमार सिंहले नारायणी अस्पतालको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारको लापरबाहीको आलोचना तिव्र रुपमा गरे । उनका अनुसार अस्पतालको भवन निकै जीर्ण भइसकेको छ, जसका कारण चिकित्सकहरू ज्यानकै बाजी लगाएर बिरामीहरूको उपचार गर्न बाध्य छन् ।
डा. सिंहले जीर्ण भवनमा काम गर्नु चिकित्सक र बिरामी दुबैका लागि ज्यानको जोखिम मोल्नु सरह भएको बताउँदै सरकारलाई अविलम्ब पुनर्निर्माण कार्य अघि बढाउन आग्रह गरे । उनले नारायणी अस्पताल मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्र भएको र यसले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा तथा छिमेकी भारतका गरी करिब ३० लाख जनसंख्यालाई सेवा दिइरहेको उल्लेख गरे ।
नेपाल सरकारले आर्थिक वर्ष २०७४÷७५ मा पाँच सय शैयाको अस्पताल निर्माण गर्ने योजना ल्याएको थियो । करिब १ अर्ब ५५ करोड रुपैयाँको लागतमा भवन निर्माणको टेन्डर प्रक्रिया अघि बढाइएको भए पनि कानुनी जटिलताका कारण अस्पतालको पुनर्निर्माण रोकिएयो । ललितपुरका एनडीई÷भीसीपीआई÷एसएसएनसी कम्पनीले टेन्डर प्राप्त गरे पनि कर संकलन प्रक्रियामा देखिएको त्रुटिका कारण सहरी विकास तथा भवन निर्माण विभाग र ठेकेदार कम्पनी बिच कानुनी विवाद उत्पन्न भयो । अहिले उक्त मुद्दा अदालतमा विचाराधीन भएकाले अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन ।
चिकित्सकहरूले नारायणी अस्पताल सुधारका लागि पहिलो पटक नेपालकै पहिलो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध गर्दै विरोध जनाएका छन् । उनीहरूले नारायणी अस्पताल अगाडि धर्ना बसेर सरकारलाई गम्भीर हुन चेतावनी दिए ।