रौतहट, २० माघ । “रौतहट जिल्ला अदालतका न्यायाधिशहरु नेताको झोले” भएको शब्द प्रयोग गरेर सामाजिक संजालमा अभिव्यक्ति दिने आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साह विरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता गर्न मिसिल पेश गरिएको छ ।
बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदीपकुमार यादवले माघ १८ गते शुक्रवारका दिन अदालतमा पेश गरेको अपहेलना मुद्दाको मिशिल दर्ता गर्नका निमित्त ६ नम्वर बेञ्चमा पेश गरिएको हो ।
जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव ढोडारीले बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदीपकुमार यादवले प्रतिनिधि सभा सदस्य प्रभु साह र आजपाका महासचिव त्रिभुवन साह विरुद्ध अदालतको अपहेलना मुद्दामा यस कार्यालयमा पेश गरेको मिशिल दर्ताका लागि आज आइतवार ६ नम्वर इजलाशको बेञ्चमा पेश गरिएको बताए ।
पेश गरिएका मिशिल दर्ता हुने कि नहुने सम्पूर्ण अधिकार बेञ्चको रहेको स्पष्ट पार्दै आईतवार १२.४५ बजेको समय सम्म अपहेलना मुद्दा रौतहट जिल्ला अदालतमा दर्ता नभएको बताए । संचारकर्मीको प्रश्नको जवाफमा श्रेष्तेदार ढोडारीले कानुन बनाउने जिम्मेवार व्यक्तिद्धारा यसरी बिना प्रमाण कानुनको उपहास गर्नु अलि सुहाएन । प्रतिनिधि सभा सदस्य जस्तो गरिमामय पदमा बस्नु, पटक पटक मन्त्री बन्ने व्यक्तिले न्यायाधिशलाई तल्लो स्तरको टिप्पणी गर्नु सरासर गलत रहेको बताए ।
प्रतिनिधि सभा सदस्य प्रभु साहले न्यायाधिश वारे के भनेका थिए ?
केही दिन अघि प्रतिनिधि सभा सदस्य साहले रौतहट जिल्ला अदालतका झोले न्यायाधीश शब्द लेखि अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाको नगरप्रमुख यादवले गएको शुक्रबार अपहेलना मुद्दा दर्ता गराएका थिए । रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित सांसद साहले आफ्ना फेसबुक आईडीबाट “रौतहटका न्यायाधीश नेताका झोले कार्यकर्ता” भनेर सम्मानित अदालत बिरुद्व टिप्पणी गरेको थियो ।
आजपा महासचिव साह उपर सम्मानित अदालत परिषरमा आफुलाई ज्यान मार्ने धम्की दिएको समेत आरोप लगाए । बौधीमाई नगरप्रमुख यादवले दिएको जानकारी अनुसार सर्वदलीय सर्वपक्षीय सहमतिमा नगरपालिकाले बाटो खाली गराउने क्रममा आफु माथि एक्कासी हमला गरी कुटपिट अभद्र व्यवहार तथा गालि गलौज गर्ने गंगा राम बैठा उपर स्थानीय प्रशासनले मुद्दा दर्ता गरी सम्मानित अदालतका न्यायाधीशले निज बैठालाई पुरपक्षका लागि थुना पठाउने आदेश दिएका थिए ।
आम जनता पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य साहले रौतहटका न्यायाधीश नेताका झोले कार्यकर्ता लेखि आदालतको गरिमामा ठेस पुर्याउने काम गरेकोमा आजपा अध्यक्ष साह र महासचिव साह विरुद्ध अदालतको अपहेलना मुद्दा दिएको जानकारी दिए ।
बौधीमाई नगर पालिकाका कानुनी सल्लाहकार एवं नेपाल बार एसोसिएसन रौतहटका पुर्व अध्यक्ष राजाराम यादवका अनुसार नगर प्रमुख यादवले सांसद साह र महासचिव साह उपर दर्ता गराएको अदालतको अपहेलना मुद्वामा दण्डको रुपमा आर्थिक सजाय, जेल सजाय तथा माफी दिने व्यवस्था समेत रहेको ।
प्रतिनिधि सभा सदस्य प्रभु साह के भन्छन् ?
आम जनता पार्टी (आजपा) का राष्ट्रिय अध्यक्ष प्रभु साह संग सम्पर्क गर्दा उनले मलाई केही थाहा छैन् । रौतहट जिल्ला अदालतमा तपाई विरुद्ध अपहेलना मुद्दा दर्ता भएको प्रश्नको जवाफमा उनले कसले के गरे, के गर्दै छ आफूलाई थाहा छैन तपाईहरु अदालतमा गएर बुझनुस् भने ।