ओमप्रकाश यादव
रौतहट, २२ माघ । सधै झैं यसबर्ष पनि पतौरा पुरातात्विक महादेव स्थानमा हुने मधानी महायज्ञ महोत्सवको तयारी जोरसोरका रुपमा भईरहनुको साथै भारतीय भोजपुरी सुपरस्टारहरुको लर्को लाग्ने भएका छन् ।
रौतहटको मौलापुर नगरपालिका वडा नम्वर ५ मा रहेका प्रसिद्ध पतौरा पुरातात्विक महादेव मन्दीरमा मधानी महोत्सव छैठौं पटक आयोजना हुन गईरहेका हुन् । उक्त महायज्ञलाई प्रारम्भ गरेर सुसम्पन्न गराउने कार्यहरु विभाजित भई तयारी भईरहेका छन् ।
धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले महाशिव रात्रीको अवसरमा बर्षेणी आयोजना गर्दै आएको मधानी महोत्सव २०८१ यस वर्ष पनि आयोजना हुन गईरहेको मौलापुर नगरपालिकाले मंगलवार पतौरा स्थित पुरातात्विक महादेव मन्दिर परिसरमा पत्रकार सम्मेलनको मार्फत मधानी महोत्सव बारे जानकारी गराइएको छ ।नगरप्रमुख रिनाकुमारी साहको उपस्थित भई दिएको निर्देशनमा सो पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले यसवर्ष फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म पाँच दिन पुरातात्विक महादेव मन्दिर पतौरमा छैटौं मधानी महोत्सव आयोजना हुन लागेको जानकारी दिए ।
महायज्ञको अवसरमा भगवान शिवको विशेष पुजा अनुष्ठान, मेला, सांस्कृतिक कार्यक्रम तथा कुस्ती प्रतियोगिता लगायतको कार्यक्रम हुने प्रशासकीय अधिकृत साहले बताए ।
फागुन ११ गते शिव पार्थिव पुजन, महाहवन तथा मधानी महोत्सवको समुदघाटन हुने बताइएको छ । त्यस्तै फागुन १२ गते दिउँसो शिव बारात यात्रा, १३ गते मधानी बिशेष पुजा एवं समारोह आयोजना, १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम र १५ गते अन्तर्राष्ट्रीय दंगल (कुस्ती) प्रतियोगिता आयोजना हुने छ । फागुन ११ गतेदेखी फागुन १५ गते रातीसम्म स्थानीय नाचको व्यवस्था गरिएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहलवानहरु कुस्तीमा सहभागी हुन आउने आयोजकले जनाएको छ । फागुन १३ गते आयोजना हुने मधानी विशेष समारोहको प्रमुख अतिथिको रुपमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आउँदै छन् ।
यो वर्षको मधानी महोत्सवमा आफ्ना सांस्कृतिक प्रस्तुती दिन फागुन १४ गते सांसद समेत रहेका भारतिय भोजपुरी एवं हिन्दी सिनेमा जगतका सुपर स्टार अभिनेता रविकिसन, भारतका पूर्व मन्त्री एवं सुप्रसिद्ध गायक एवं गीतकार बिनय विहारी र भारतीय सुप्रसिद्ध गायक तथा अभिनेता रितेश पाण्डे आउन लागेको आयोजकले जनाएको छ ।
त्यस्तै भारतका अन्य कलाकारहरुमा मिंटुवा, भाइरल कलाकार मोनालिसाका साथै नेपाली कलाकारहरुमा सुप्रसिद्ध गायक सुनिल पंडित, गायिका अनु चौधरी, सदाम हुसेन, रचना सिवाकोटी, रुद्र नारायण तिवारी, प्रिया सुहानी, रोसनी राज, सरिता साह, अर्जून बीसी, मनीषा राई सहित स्थानीय कलाकारहरु पनि सांगीतिक प्रस्तुती दिन आउने छन् ।