प्रभु साह कुहिएको आलु हो माओवादी अध्यक्ष प्रचण्ड

   ४ मंसिर २०७८, शनिबार १८:००  

तराई टप संवाददाता
कटहरिया (रौतहट), ४ मंसिर । नेकपा एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दहालले माओवादी पार्टी प्रति बढ्दै गएको जनलहर एवं मधेशी जनताको विश्वासको कारण आउदो निर्वाचनमा मधेशमा माओवादी पार्टी एक नम्वर हुने बताए ।
रौतहटको कटहरिया नगरपालिकामा माओवादी केन्द्रद्धारा शनिवार आयोजित विशाल जन सभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीको खोल ओढेर केही प्रतिक्रियावादीलाई पार्टीबाट हटाउदा प्रचण्ड समाप्त भएको संदेश दिदै हिड्ने व्यक्ति आज आफै समाप्त भएर गएको तथा पार्टी प्रति बढ्दै गएको जनविश्वासबाट लाग्छ आउदो निर्वाचनमा एक नम्वर पार्टी मधेशमा हुने स्पष्ट पारे ।
माओवादीबाट निकालिएको प्रभु साहको नाम नलिएपनि उनीमाथि प्रहार गर्दै अध्यक्ष प्रचण्डले जनयुद्ध एवं सर्वहारा वर्गको उत्थानको लागि लडेका पार्टीमा कुहिएको आलुको कुनै स्थान नरहदा उनलाई बोराबाट निकालेर फालिएको बताए । सिंगो बोरामा एउटा आलु कुहिदा त्यसलाई ननिकाल्दा सवै आलु कुहिने भएको हुँदा प्रभु साह कुहिएको आलु हो त्यसलाई फालिएपछि मधेशमा पार्टी नयाँ सिराबाट अघि बढिरहेको संकेत दिए ।
प्रतिगमनको मसिहा केपी शर्मा ओली समक्ष घुडा टेक्ने केही तथाकथित माओवादीको खोल भित्र रहेका व्आसाहरुलाई पार्टीबाट हटाई सर्वहारा क्रान्तिकारी वर्गको हितमा पार्टी अघि बढेर संघिय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरिएको बताए । केही ज्ञात अज्ञात षड्यन्त्रकारी देशी विदेशी शक्तिहरु संग मिलेर ओली जस्ता पात्रले मुलुकमा अधिनायकवादी सत्ता संचालन गर्न खोज्दा पाँच राजनितिक दलको गठबन्धको अथक प्रयासबाट सत्ताच्यूट गरी देउवाको नेतृत्वमा सरकार गठन गरी संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरेको स्पष्ट पारे ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले २००९ सालको किसान आन्दोलन होस वा २०१५ सालको निर्वाचन होस हरेक समयमा रौतहट कम्युनिष्ट पार्टीको परचम लहराएको जिल्ला हो ।
यहाँको केही व्यक्तिहरुले काठमाडौमा रौतहट जिल्ला क्रान्तिकारीको जिल्ला होइन दलालहरुको जिल्ला भईसक्यो भने प्रचारवाजी गरेर बदनाम गराउने कार्य गरेको भएपनि आजको कटहरियाको विशाल जनसभा देख्दा रौतहट आत्मसमर्पनवादी, कायर एवं गद्दारको जिल्ला नभई क्रान्तिकारी विरहरुको जिल्लाको साथै लोकतन्त्र प्रतिको आस्था राख्ने जिल्ला रहेको आफूलाई महसुस भएको बताए । यो जिल्ला क्रान्तिकारीको जिल्ला भएको हुँदा आपूm र पार्टी केन्द्रको तर्फबाट रौतहटबासीलाई लाल सलाम छ अध्यक्ष प्रचण्डले भने । रौतहटको सन्देश देशमा मात्रै नभई अन्तराष्ट्रिय स्तर सम्म लैजाने प्रतिबद्धता जनाए ।
रौतहट सहित मधेशको जनताहरु जस्तो सुकै चुनौतीको सामना गरेर पनि पार्टीको पक्षमा परिवर्तन र क्रान्तिको पक्षमा उभ्भिएर प्रमाणित गरेकोमा खुशी व्यक्त गर्दै रौतहट जिल्ला नेपालको इतिहासमा क्रान्तिकारी जिल्लाको रुपमा परिचित रहेको छ, राणाशाही विरोध आन्दोलन र कम्युनिष्ट पार्टी गठन भएपछि सामन्त एवं जमिन्दार दलालहरुको विरुद्ध ठूलठूला संघर्ष गर्ने जिल्लाको रुपमा रहेको हुँदा रौतहटको हितमा माओवादी एकिकृत हर सम्भव प्रयास गर्ने बताए ।
रौतहटबाट पाएको जनसमर्थन एवं उर्जालाई संचित गरेर काठमाडौ सहित देशभरी लैजाने प्रतिबद्धता जनाउदै रौतहट क्रान्तिकारीको आगोमा जलेर सुन निष्केको बताउदै अध्यक्ष प्रचण्डले जनयुद्धबाट प्राप्त भएका उपलब्धीलाई संस्थागत गर्दै लैजाने तथा यो देशमा दोश्रो दर्जाको नागरिकको रुपमा रहेका मधेशी जनतालाई अधिकार सम्पन्न बनाउने, दलित, मुस्लिम, महिला, सुकुमबासीको निमित्त माओवादी केन्द्र सबैको अधिकार सु सम्पन्न गराउने कार्यमा क्रियाशिल रहेको बताए ।
आफू विरुद्ध चितवनमा केही प्रतिगमनकारीहरु षड्यन्त्र गरिरहेको हुँदा आज रात्रि बास चितवनमै हुने बताए । चितवन जिल्ला सवैको लागि हो तर प्रतिगमनकारीलाई तह लगाउने जिल्ला पनि याद गरेर पाइला चाल्न समेत सुझाव दिए ।
नेकपा एकिकृत प्रदेश २ को अध्यक्ष प्रलाद बुढाथोकीले किसान एवं कम्युनिष्ट आन्दोलनको उर्वरभुमिको रुपमा रौतहट सहितको प्रदेश २ मा माओवादी एकिकृत प्रति बढ्दै गएको जनविश्वासबाट प्रदेश २ अन्य प्रदेश भन्दा आउदो निर्वाचनमा अगाडी रहेने बताए । यो प्रदेशको आठै जिल्लाको जनताहरु बर्षेणी भोग्दै आएको बाढी, डुवान कटानको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्न प्रचण्डको ध्यानाकर्षण गराए ।
जिल्ला इन्चार्ज युवराज भट्राई (समिर) को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सत्यनारायण भगत, मुस्लिम एवं युवा नेता वाहिद अन्सारी, अशोक जयसवाल, देवेन्द्र पटेल लगायतका नेता एवं कार्यकर्ताहरुले सम्बोधन गरेका थिए । कटहरियाको कार्यक्रममा दुर्गा भगवती, परोहा, राजपुर, मौलापुर सहित विभिन्न पालिकाबाट १० हजार भन्दा बढि जनताहरुको उपस्थित जनसभामा रहेको युवा नेता धर्मेन्द्रकुमार झा (डिके)ले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै