ओडिसा, ६ फागुन । ओडिशाको एक निजी विश्वविद्यालयमा नेपाली विद्यार्थीको शंकास्पद अवस्थामा मृत्यु भएको घटना सार्वजनिक भएपछि विवाद चर्किएको छ ।
यस विषयमा विश्वविद्यालयको निर्णयको पनि सर्वत्र आलोचना भइरहेको हो । यस विषयमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु देउवा सक्रिय रुपमा अगाडि आउनु परे ।
ओडिशा प्रहरीले भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इंडस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा आइतबार साँझ बी–टेक तेस्रो वर्षका छात्राको शव भेटिएको जनाए ।
प्रहरीका अनुसार नेपालको प्रकृति लम्साल नामकी एक छात्राले आइतबार साँझ आत्महत्या गरेकी थिइन् ।
दुई सुरक्षागार्डलाई निष्काशन र कर्मचारीलाई निलम्बन
केआईआईटी विश्वविद्यालयले मंगलबार दुई सुरक्षाकर्मीलाई निष्कासन गरेको जानकारी दिएको छ । साथै छात्रावासका दुई बरिष्ठ कर्मचारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक बरिष्ठ प्रशासकीय अधिकृतलाई छानबिन नभए सम्मका लागि निलम्बन गरिएको छ ।
यस घटनाको विरोधमा नेपाली विद्यार्थीले क्याम्पसमा विश्वविद्यालय प्रशासन विरुद्ध प्रदर्शन गरेका थिए । आन्दोलनरत विद्यार्थीहरुले सोही ब्याचका एक भारतीय विद्यार्थीले आफूहरुलाई उत्पीडन गरेको आरोप लगाए पनि पटक पटक गुनासो गरे पनि विश्वविद्यालय प्रशासनले विद्यार्थीमाथि कुनै कारबाही नगरेको आरोप छ ।
यस घटनाका आरोपी विद्यार्थीलाई विवाद चर्किएपछि अहिले प्रहरीले पक्राउ गरेको छ ।
तर विश्वविद्यालय प्रशासनको कथित आदेश र त्यसलाई फिर्ता लिएपछि यो विषय कूटनीतिक तहसम्म पुग्यो । विश्वविद्यालयले एक विज्ञप्ति जारी गरेर आफ्ना स्टाफले विद्यार्थीहरूलाई जतिसक्दो चाँडो क्याम्पसमा फर्कन मनाउने प्रयास गरिरहेको बताएको छ ।
विद्यार्थीहरुको आन्दोलनपछि विश्वविद्यालयले नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न भनेको थियो तर सोमबार अबेर साँझ विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूलाई क्याम्पस र कक्षामा फर्कन आग्रह गरेको थियो ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको वेबसाइट एक्समा पोष्ट गर्दै नेपाली विद्यार्थीलाई सहयोग गर्न भारत स्थित नेपाली दूतावासका दुई अधिकारीलाई ओडिशा पठाइएको जानकारी दिएका छन् ।
उनले विद्यार्थीहरुलाई आफ्नो रुची अनुसार होस्टेलमा बस्ने वा घर फर्कने विकल्प रहेको पनि बताए । नेपाली परराष्ट्रमन्त्री आरजु राणा देउवाले यस विषयमा कूटनीतिक पहल गरिरहेको बताइन् ।
यो बिषयमा अहिलेसम्म के भयो ?
कम्प्युटर विज्ञान तेस्रो वर्षकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा प्रहरीले थप जानकारी दिएको छ ।
भुवनेश्वर–कटकका प्रहरी आयुक्त सुरेश देव दत्त सिंहले समाचार एजेन्सी एएनआईलाई भने, “हामीले एक विद्यार्थी आत्महत्या गरेको जानकारी पाएका छौं । प्रारम्भिक अनुसन्धानले उनलाई सोही विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङका तेस्रो वर्षका विद्यार्थीले दुव्र्यवहार गरेको खुलेको छ ।”
प्रहरीका अनुसार पीडित छात्राका आफन्तले आरोपी पीडिक विद्यार्थीद्धारा ब्ल्याकमेल गरेको भन्दै उजुरी दिएका छन् जसका कारण उनले यस्तो कदम चालेको बताए ।
प्रहरीले अभियुक्तलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाएको छ । साथै मृतक विद्यार्थीको मोबाइल फोन र अन्य सामान जफत गरी फरेन्सिक अनुसन्धानका लागि पठाइएको बुझिएको छ ।
प्रहरी आयुक्त सुरेशदेव दत्त सिंहले भने, “प्रारम्भिक प्रमाणका आधारमा कुनै प्रकारको दुव्र्यवहार भएको कारणले विद्यार्थीले यो चरम कदम चालेको हुन सक्ने देखिएको छ । स्थिति नियन्त्रण गर्न विश्वविद्यालयमा प्रहरी बल तैनाथ गरिएको छ र अवस्था अहिले शान्तिपूर्ण छ ।” बीबीसी हिन्दी