रौतहट, २९ फागुन । विगत दुई महिना अघि देखि रौतहटको उत्तरी भेगको जंगल वरिपरीको वस्तीमा घाईते अवस्थामा देखा परेका हात्ती समुचित उपचार एवं हेरचाहको अभावमा कालको मुखमा पुग्न आँटेका छन् ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्वर २ र ३ स्थित जंगल एवं वस्तीमा अशक्त अवस्थामा रहेका जंगली हात्तीको समुचित उपचार एवं हेरचाह नहुँदा दिनप्रतिदिन दुब्लाउदै गएको र चाँडै कालको मुखमा समाउने अवस्थामा पुगेका हुन् ।
पूर्व पश्चिम राजमार्गमा पर्ने रौतहटको चन्द्रपुर चोकबाट करिब २ किलोमिटर उत्तर लागेपछि आदर्श सामुदायिक वनको नर्सरी आउँछ । त्यही नर्सरी छेउमा पर्सा राष्ट्रिय निकुञ्जबाट निस्किएर यहाँ सम्म “यमगज” हात्ती आयो । यहाँ आएका हात्तीको अगाडी तर्फको दाहिने खुटा सुनिएको र राम्ररी हिड्न सक्ने अवस्थामा नरहेको तथा आफै चरण गर्ने समेत नसक्ने भएको हुँदा दिनप्रतिदिन दुब्लाउदै गएको बताइएको छ ।
असहनिय पीडा भईरहदा पनि बयान गर्न नसक्ने हात्ती यमगज लाई ब्याकग्राउण्डमा राखेर अहिले कतिपयले टिकटक, रिल लगायतका भिडियो समाजिक सञ्जालमा भाइरल भईरहेको छ । यमगज लाई हेर्न आउने मानिसहरुले हरिया मकैको घोगा, केला बोकेर पुग्ने मानिसहरूको भीड लाग्ने गरेको छ ।
उक्त जंगलमा शिकारीहरुको रजगज रहेको हुँदा दाराको लोभमा यमगज को जीवन जोखिममा रहेको चिन्ता व्यक्त गर्दै स्थानीय समाजसेवी एवं शिक्षाविद बुद्धिराज नेपालीले यथाशिघ्र निकुञ्जका प्राविधिक टोलीहरु आएर हात्तीलाई यहाँबाट उद्धारी गरेर निकुञ्जमा लगि समुचित रुपमा उपचार गरेमा निको हुने विस्वास व्यक्त गरे ।
२०७० चैतमा यही जंगलमा चितवन राष्ट्रिय निकुञ्जबाट डुल्दै आएको गैँडालाई गोली हानी घाइते बनाइएको थियो । घाइते गैँडा उपचारका क्रममा दुई महिना पछि मर्यो । त्यही घटना यमगज माथि नहोस् भनेर स्थानीयहरु चिन्ता व्यक्त गर्न थालेका छन् ।
उनीहरूले वन र नगरपालिकालाई उपचार र उद्धारका लागि पटक पटक आग्रह गरेका छन् । तत्कालै उपचार गरेर हात्तीलाई निकुञ्जमा लग्न दबाब दिइएको छ ।
यमगज खुट्टा खोच्याउँदै पानी पिउन चाँदी नदीमा पुग्छ । मानिसको आवागमन र होहल्ला पछि बिस्तारै पुनः नर्सरी भित्र छिर्छन । खुट्टाको घाउको कारणले प्रायः ऊ एकै ठाउँमा बस्ने गरेको छ । रुखको हाँगामा सूँड अड्याउँछ । पशु भएको हुँदा यमगजले भोगिरहेको पीडालाई स्थानीयहरु देखिनसक्नु भएको छ ।
यस विषयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यलाई स्थानीय बुद्धिजीवि एवं शिक्षाबिद बुद्धिराज नेपालली गत साता कुरा गरेर घाइते हात्तीलाई उद्धार गर्न दवाव दिएपनि उनले यो जंगली हात्ती भएको हुँदा त्यसै छाडिदिने र त्यसबाट टाढा रहन उनले गैर जिम्मेवारीपूर्ण जवाफ दिएर पन्छिएको गुनासो गरे । एक त पशु त्यसमा पनि नेपालमा संरक्षित जनावरको सुचीमा रहेका हात्तीलाई आरक्षका प्राविधिक टोलीले उपचार गराउनुको साटो उल्टै त्यसै छाडिदिने भन्दा झन् उनी आक्रोशित बन्दै समाचारको माध्यमबाट राज्यको ध्यानाकर्षण गराइदिन उनले आग्रह गरे ।
निकै दबाब पछि डिभिजन वन कार्यालयले हात्तीको उपचार तथा उद्धार गर्न भनी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौँ र राष्ट्रिय प्रकृति संरक्षण कोष ललितपुरलाई फागुन १५ गते पत्र लेख्दै भन्यो, ’उचित समयमा उपचार गर्न नसके हात्ती मर्ने खतरा छ ।’
यसअघि पनि वनले पत्राचार गरेपछि फागुन १ गते चितवन स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आएको चिकित्सक टोलीले डार्ट गरेर यमगजको जंगलमै उपचार गरेको थियो । त्यसपछि पनि यमगजको घाउ निको भएको छैन । सिकारीको गोली लागि घाइते भएको अनुमान गरिएको छ । तर, यसको आधिकारी पुष्टि भएको छैनन् ।
अविलम्ब सम्बध निकायले घाइते अवस्थामा रहेका यमगज हात्तीको उद्धार गरेर समुचित रुपमा उपचार गरेमा मात्रै हात्ती बाँच्ने अन्यथा हात्तीलाई बचाउन निकै गाह्रो हुने उनले बताए ।