रौतहट, ६ चैत । बहुचर्चित एवं सबैको सरोकारका विषय भएका गौर राइस मिल्सका सम्पूर्ण जग्गा अधिग्रहण हेतु गौर नगरपालिकाले विगतमा गरेका निर्णयलाई स्थगित गरेर बाटो खुला गरिदिएका छन् ।
निकै लामो समय देखि अधिग्रहणको चर्चा चलिरहदा पनि अधिग्रहण हुन नसकेको अवस्थामा नगरपालिकाको नगरप्रमुख शम्भु साहले गौर राईस एण्ड फ्लोर मिल्सका संचालक संग दानमा २ विगहा १५ हत्ठा जग्गा लिने र बाँकी जग्गा फुकुवा गर्ने नगरपालिकाको बोर्डबाट भएका निर्णय सार्वजनिक गरेपछि गौरमा विभिन्न आन्दोलनहरु सुरु भए ।
तर नागरिक समाजले आन्दोलनमा नगई बिचको बाटो अपनाई नगरप्रमुखलाई आग्रह, जनचाहना अनुरुप हिड्न सल्लाह दिदै सर्वदलिय सर्वपक्षिय निर्णयबाट प्राप्त कुराहरुलाई ज्ञापन पत्रको माध्यमबाट बुझाएपछि आज नगरवासीको चाहना अनुसार सम्पूर्ण जग्गा अधिग्रहण गर्ने बाटो नगरपालिकाले खोलिएका हुन् ।
गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले जारी गरेको प्रेश विज्ञप्ती वाचन गर्दै गौर राईस मिल्सको नाममा दर्ता रहेको जग्गाहरु विगत लामो समय देखि सार्वजनिक प्रयोगमा रही उक्त जग्गा प्राप्त गर्नुपर्ने जनचाहना अनुसार जग्गा प्राप्तीको लागि विभिन्न चरणमा भएका प्रयासहरु सफल हुन नसकी जनचाहना पुरा हुन नसकेको कारण गौर नगरपालिकाको नागरिक एवं खेलाडीहरुको हकहितको लागि गौर राईस मिल्सको जग्गाहरु मध्ये २ विगहा १५ कत्ठा गौर नगरपालिकाले दानमा लिने निर्णय गरिएकोमा नागरिक समाज रौतहटको नेतृत्वमा सर्वदलिय सर्वपक्षिय बैठक पछि बुझाइएको ज्ञापन पत्रमा सम्पूर्ण जग्गा अधिग्रहण गर्न रकमको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको हुनाले अधिग्रहण कार्यलाई कार्यान्वयन गर्न विगतमा गौर नगरपालिकाबाट भएका सम्पूर्ण सवै निर्णय स्थगित गरिएको बताए ।
नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरीले नगरप्रमुख शम्भु साहको सराहनिय कदम नगरवासीको हितमा रहेको चर्चा गर्दै अव भोली देखि सम्पूर्ण राजनीतिक दल, नगरप्रमुख लगायत सम्बध सबै सरोकारवाला निकायहरु मिलेर अधिग्रहण गराउन श्रोतको व्यवस्थापनमा जुट्न आह्वान गरे । यस कार्यमा सहयोग र साथ दिने सबै प्रति उनले आभार व्यक्त गर्दै विशेष रुपमा गौर नगरप्रमुख साहलाई धन्यवाद दिए । उक्त अवसरमा गौर नगरका पूर्व नगरप्रमुख तथा निवर्तमान प्रदेश सभा सदस्य बाबुलाल साह, नकपा एसका नेता रेबन्त झा सहितका नेताहरुको उपस्थिति रहेको थियो ।