नेपाल सरकारको लगानी दुरुपयोग गर्दै आश्रय निर्माण सेवा

   ११ मंसिर २०७८, शनिबार १८:५२  

कटहरिया संवाददाता-तराई टप
कटहरिया (रौतहट), ११ मंसिर । आश्रय निर्माण सेवाले रौतहटको कटहरिया स्थित सडकको संरचना बिगारेर जथाभावी ढल तथा नाला निर्माण गर्दै नेपाल सरकारको लगानीको चरम दुरुपयोग गरिरहेको आरोप स्थानीयले लगाएको छ ।
आश्रय निर्माण सेवाका संचालक रामअश्रे साहले ठेक्का लिएको नाला निर्माणको काम आफैले नगरी पेटि कन्ट्रयाक्टमा अर्को निर्माण व्यवसायी मार्फत गराएर बजार क्षेत्रकै सडकको संरचनालाई अस्तव्यस्त बनाउदै नेपाल सरकारको लगानीलाई चरम दुरुपयोग गरिरहेको हो ।
त्यति मात्र नभै पेटि कन्ट्रयाक्टका ठेकदारहरुले जथाभावी बाटो खन्दा कटहरियामा पटकपटक खानेपानीको पाईप फुटेर खानेपानी सेवा अवरुद्ध हुँदै आएको छ । कटहरिया नगरपालिका वडा ४ र ५ मा ढल तथा नाला निर्माणको लागि खानेपानी तेस्रो साना सहरी आयोजनाले गतबर्ष निकालेको ५४ करोडको टेन्डर आश्रय निर्माण सेवाले घटाघटमा ३४ करोडमा साकार गरेको थियो ।
ठेक्का साकार गरेलगत्तै संचालक साहले कटहरिया गाउँमा ढल तथा नाला निर्माणको काम पेटि कन्ट्रयाक्ट मार्फत काम सुरु गराउंदा गुणस्तरहिन बालुवा, मिठापाक ईंटा, नाला जोडाईमा पानीको प्रयोग नै नगरेको पाईएपछी स्थानीयले २ दिनसम्म काम रोकेका थिए । पछि रौतहटका तत्कालीन सिडियो ईन्द्रदेवको रोहवरमा ठेकदार साहका भाई नागेन्द्र साहले ढल तथा नाला निर्माण काम गुणस्तरीय गर्ने प्रतिबद्धता गरेपछि पुनः निर्माण काम सुरु भएको थियो ।
यसपटक निर्माण काम सुरुगर्नु अघि कटहरिया नगर प्रवक्ता चन्दन कुश्वाहाले मेयर सियाराम कुश्वाहाको रोहवरमा ठेकदार संग जनप्रतिनिधिको छलफल गराएको थियो । छलफलमा बजार क्षेत्रमा ढल तथा नाला निर्माण गर्नु अघि स्थानीय जनप्रतिनिधि संग समन्वय गरेर काम अगाडि बढाउने सहमति भएको थियो । निर्माणको ठेक्का लिएका मुल ठेकदार रामअश्रे साह आफू नबसेर पेटि कन्ट्रयाक्टका ठेकदार संग ढल तथा नाला निर्माण गराउंदा उनिहरुले जथाभावी बाटो खनेको कारण पटकपटक खानेपानीको पाईप फुटेर सप्लाई बन्द हुंदैआएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले गुनासो गरेका छन ।
त्यतिमात्र नभै प्रोजेक्ट ईन्जिनियर बिजेन्द्र यादवको मिलोमतोमा पेटि ठेकदारले बजारको मुल सडकको छेउमा नभै ८÷१० फिट खाली छोडेर नाला निर्माण गरिरहेकाले सडक संरचनानै बिग्रीरहेको कटहरिया नगर प्रवक्ता चन्दन कुश्वाहाले गुनासो गरे । पटकपटक ईन्जिनियर यादव र पेटि ठेकदारलाई बोलाएर सडक संरचना नबिगारी ढल तथा नाला बाटो छेउमा निर्माण गर्न भन्दा घरधनी संग केहि रकम लिएर बदमासी गरिरहेको प्रवक्ता कुश्वाले आरोप लगाएका छन ।
कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहा आफू एमाले पार्टीको महाधिवेशनमा ब्यस्त रहेकोे मौका छोपेर मुल र पेटि ठेकदारले बदमासी गरिरहेको बताए । मेयर कुश्वाहाले ढल तथा नाला निर्माणमा मुल लगानी कर्ता तेस्रो सानासहरी तथा खानेपानी योजनाका पदाधिकारीले ध्यान दिन जरुरी रहेको बताए ।
आश्रय निर्माणसेवाले गैरजिम्मेवारी पुर्ण गर्न लागेको ढल तथा नाला निर्माणले एकातिर कटहरियाको सडक संरचना बिग्रीनुका साथै खानेपानी पाईपमा लाखौंको क्षति पुगिरहेको छभने अर्को तर्फ बीच बाटोमा निर्माण भैरहेको ढल तथा नाल पुनः भत्काउने अवस्था चांडै आउने भएकाले एसियाली विकास बैंक र नेपाल सरकारको करोडौंको लगानी बालुवामा पानी खन्याए सरह हुने निश्चित रहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै