दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट फेला पर्दा विश्वभरी चिन्ता बढायो

   ११ मंसिर २०७८, शनिबार १९:३०  

रौतहट, ११ मंसिर । दक्षिण अफ्रिकामा कोभिड–१९ को अत्याधिक गतिबाट सर्न सक्ने नयाँ भेरियन्ट फेला परेको छ ।
नयाँ भेरियन्ट फेला परेसँगै वैज्ञानिकहरूले चिन्ता व्यक्त गर्दै यसबाट उत्पन्न हुन सक्ने जोखिम बुझ्ने प्रयास भइरहेको बताइएको हो । “बि१.१.५२९” नामाकरण गरिएको उक्त भेरियन्टमा पटक–पटक एउटै प्रकारको म्युटेशन हुने ‘मात्रा अस्वभाविक’ रहेको अलजजिराले बताएको छ । बिहीबार वैज्ञानिकहरूले म्युटेशनको ‘अस्वभाविक मात्रा’ का कारण नयाँ भेरियन्टले शरीरको रोग प्रतिरोधी क्षमता छल्न सक्ने र थप संक्रामक बन्न सक्ने हुँदा चिन्ता व्यक्त गरेका छन् ।
दक्षिण अफ्रिकाको सरुवा रोगका लागि राष्ट्रिय इन्स्टिच्युटका अनुसार जिनोमिक सिक्वेन्सिङ पछि २२ जना मानिसमा नयाँ भेरियन्ट फेला परेको हो । दुःखका साथ भन्नुपर्छ हामीले फेला पारेको नयाँ भेरियन्ट दक्षिण अफ्रिकामा चिन्ताको विषय बनेको छ, नेटवर्क फर जिनोमिक सर्भिलेन्सका टुलियो डि ओलिभियराले बताए । नयाँ भेरियन्टसँग म्युटेशनको क्षमता निकै उच्च रहेको र यसैका कारण पुनः संक्रमण देखिएको पनि उनले बताए ।
ओलिभियराका अनुसार बोत्स्वाना र हङकङमा समेत कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ । त्यहाँ दक्षिण अफ्रिकाबाट आएका मानिसहरूबाट संक्रमित भएका छन् ।
आगामी केही दिनभित्रै नयाँ भेरियन्ट कति संक्रामक र गम्भीर छ भनेर तय गरिने अधिकारीहरूले बताए । हालसम्म खासगरी युवायुवतीमा “बि१.१.५२९” फैलिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै