तराई टप संवाददाता
जनकपुर, १२ मंसिर । विभिन्न फर्महरु आन्तरिक राजस्व कार्यालयमा दर्ता भएपनि लामो समय देखि कर नबुझाउने करदातामाथि आन्तरिक राजस्व कार्यालयले कारबाही अघि बढाएको छ ।
दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताहरुको सूची तयार पारेर कारबाही अघि बढाइएको आन्तरिक राजस्व कार्यालय जनकपुरको प्रमुख गजेन्द्रप्रसाद यादवले जानकारी दिएको हो ।
कर नबुझाउने करदाताको सूची तयार पारेर पहिलो चरणमा टेलिफोन मार्फत कर बुझाउन आग्रह गरेको बताए । दोस्रो चरणमा पत्राचार गरिने र अन्तिममा सूचना प्रकाशन गरी बैंक खाता रोक्का गर्ने लगायत कारबाही प्रक्रिया अगाडी बढाउने स्पष्ट पारे । गत आर्थिक वर्ष ०७७÷०७८ मा कर नबुझाउने ५० जना करदाता माथि कारवाही गरिएकोमा यस वर्ष पनि कारबाही अघि बढाएको प्रमुख यादवको भनाइ छ ।
उक्त कार्यालयले चालू आव ०७८÷०७९ को चार महीनामा १ अर्ब ७३ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्य भन्दा २०८ प्रतिशत बढी हो । सो कार्यालयको यस अबधिमा ८३ करोड १८ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । चालू आव ०७८÷०७९ मा ३ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा र चार महीनामै लक्ष्यको ५५ प्रतिशत राजस्व संकलन भइसकेको प्रमुख यादवले बताए ।
आयकरतर्फ ३१ हजार ९००, व्यक्तिगततर्फ ५७ हजार ३३७६ र अन्तशुल्कतर्फ १ हजार ३४८ गरी ९८ हजार ९४ करदाता रहेको कार्यालयले जनाएको छ । यसैबीच कार्यालयले चार ओटा जिल्लाका चार जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर सप्ताह अन्तर्गत धनुषाका क्षीरेश्वर डिष्ट्रीलरी, महोत्तरीको अल्का वाइर प्रालि, सिन्धुलीको सिद्धबाबा कन्ट्रक्सन र सर्लाहीको नेपाल भेनियर उद्योगलाई सम्मान गरिएकोे छ ।
आन्तरिक राजस्व विभागले निर्धारण गरेको मापदण्ड अनुसार राजस्वमा योगदान पु¥याउने, समयमा सही बितरण बुझाउने, बक्यौता बेरुजु नराख्ने र कुनै प्रकारको दण्ड जरिवाना नतिरेका मध्येबाट उत्कृष्ट करदाता छनोट गर्ने गरिन्छ । यस्तै उत्कृष्ट कार्य गरे बापत करदाता सेवा कार्यालय मलंगवामा कार्यरत जयकिशोर साह, करदाता सेवा कार्यालय बर्दिबासका कार्यरत विजय साह र आन्तरिक राजस्व कार्यालयका राकेशकुमार मिश्रलाई पुरस्कृत गरिएको छ ।