जनकपुरधाम, १७ चैत । छुरा प्रहार गरेर हत्या गरिएको दुई साता वितिसक्दा पनि अपराधमा संलग्नलाई पक्राउ गर्न प्रहरी असक्षम रहेको भन्दै बाटो अवरुद्ध गर्दा जनकपुर उपमहानगरपालिकाको विन्धीमा प्रहरी र स्थानीय बीच झड्प हुँदा दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ विन्धीमा स्थानीय र प्रहरीबीच झडप भएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन दर्जनौं राउण्ड आश्रुग्यास प्रहार गरेका हुन् ।
छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न दोषीहरुको पक्राउको माग गर्दै जनकपुर– जलेश्वर सडक खण्ड अवरुद्ध गरेपछि प्रहरीले खुलाउने क्रममा झडप हुँदा दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरिएको बताइएको छ ।
स्थानीयले ढुङ्गामुढा गर्दै प्रहरीलाई लखेटेका छन् । झडपको क्रममा कैयौँ प्रहरी र स्थानीय समान्य घाइते भएका छन् । यद्यपि अहिलेसम्म विवरण आउन सकेको छैन । अहिलेसम्म कति सेल अश्रु ग्यास प्रहार भएको र घाइते भएको भन्ने विवरण एकिन नभएको धनुषाका प्रहरी उपरीक्षक एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।
चैत २ गते होली खेल्ने क्रममा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशुलाई घरबाट बोलाएर छुरा प्रहार गरी बीभत्स हत्या गरेका थिए । घटना लगतै धर्मेन्द्रलाई प्रहरीले पक्राउ गरेको थियो । तर उनलाई छुरा दिने स्थानीय रामवरण महतोका छोरा राकेश महतो लगायत आशुलाई घरबाट बोलाउन सहयोग गर्नेहरू अझै फरार छन् ।
घटनाको दुई साता पुग्दा समेत उनीहरूलाई पक्राउ गर्न नसकेको भन्दै आशुकी आमा अर्चनासहित स्थानीयले आज बिहान ८ बजेदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् । प्रहरीले एकपटक बाटो खुलाए पनि पुन स्थानीय बासिन्दाले अवरुद्ध गरेको एसपी तिवारीको भनाइ छ ।
गत चैत १३ गते पनि आशुकी आमा अर्चनासहित स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए । स्थानीयका अनुसार त्यस दिन प्रहरीले दुई दिनभित्र थप अपराधीहरूलाई पक्राउ गर्ने आश्वासन दिएपछि खुलाइएको थियो । यता एसपी तिवारीले त्यसदिन कुनै प्रकारको सहमति नभएको जिकिर गरे ।
६ महिनाअघि अर्चनाको श्रीमान् पप्पुको मृत्यु भएको थियो । उनका एक्ला छोरा गुमेपछि अर्चना सहाराविहीन बनेकी छन् ।