फतुवा विजयपुरको नगर अधिवेशनमा माओवादी केन्द्रमा विवाद चुलिदै

   १३ मंसिर २०७८, सोमबार ०९:४४  

संजयकुमार मिश्र
कटहरिया (रौतहट), १३ मंसिर । फतुवा बिजयपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रको नगर अधिवेशनमा बिवाद भएको छ ।
अधिवेशन गराउन गएका प्रतिनिधिले सहमति भएर नगर संयोजक तोकिएको बताईरहंदा पनि अधिकांश पदाधिकारीले सहमति नै नभएको भन्दै आक्रोश पोखेको हो । माओवादी केन्द्र रौतहटले अधिवेशन सफलता पुर्वक सम्पन्न गराउन बिजयपुर पठाएको प्रदेश २ कमिटी सदस्य ओहिद अन्सारीले भ्रम छरेको आरोप लागेको छ ।
माओवादी प्रदेश २ कमिटि सदस्य अन्सारी र रौतहट जिल्ला संयोजक देवेन्द्र पटेल आईतवार बिहान स्थानीय कटहरया रेडियो संग कुरा गर्दै जिल्लाको १८ मध्ये १२ स्थानीय तहमा सर्वसहमतिमा नगर अधिवेशन सम्पन्न भएको बताएका थिए ।
साथै फतुवा बिजयपुरमा पुर्ण सहमती नभएकाले तत्काल अजय तिमल्सिनालाई नगर संयोजक बनाएको तथा अर्को बैठकबाट सहमतीमा लिई पुर्णता दिने नेताद्व्य पटेल र अन्सारीले बताएका थिए । आइतबार सांझ माओवादीका मेयर प्रत्याशी सुरेन्द्र यादवको नेतृत्वमा झन्डै १ दर्जनको संख्यामा आएका फतुवा बिजयपुरका माओवादीहरुले उक्त खबर भ्रमपुर्ण रहेको टिप्पणी गरेको थियो ।
नगर अधिवेशन स्थगित हुंदा पनि माओवादीका केन्द्रिय सदस्य युवराज भट्टराई र जिल्ला संयोजक देवेन्द्र पटेलको ईशारामा नेता ओहिद अन्सारीले नगर संयोजकमा अजय तिमल्सिना चुनिएको झुठो प्रचार गरेको उनिहरुले गुनासो गरे । शनिबारको नगर अधिवेशनमा नगर संयोजकको लागि बहुमतले सहिद परिवारका गणि महतोको नाम अगाडि आउँदा सहमति न भएपछि नेता अन्सारीले आइतबार सहमति गर्ने सर्तमा बैठक स्थगित गरेर गएको मेयर प्रत्याशी यादवले बताए ।
एकातर्फ सहमतिको लागि दिन तोक्ने र अर्को तर्फ बहुमत लाई लत्याएर मनपर्दी गर्नेे भन्दै माओवादी जिल्ला नेतृत्वको उनिहरुले खुलेरै बिरोध गरे । फतुवा बिजयपुर नगरपालिकामा बहुमतको कदर नगरी जिल्लाले एकोहोरो निर्णय गरेमा न्यायको लागि आफुहरु माओवादी प्रदेश २ कमिटी देखि केन्द्रिय कमिटी सम्म पुगेर संघर्ष गर्ने बताए । जनादेश बिपरित नेतृत्वले निर्णय गरेमा आफुहरु माओवादी राजनीति त्याग गरेर सर्वसाधारण सरह घरमा बस्ने समेत टोलिले चेतावनी दिए ।
यादवको नेतृत्वमा फतुवा बिजयपुर ७ का वडा अध्यक्ष तथा पार्टी संयोजक हिरालाल यादव, ८ का वडा अध्यक्ष तथा पार्टी संयोजक उमाशंकर जयसवाल, ४ का संयोजक संजय महतो, ७ का संयोजक मुकेश यादव, १० का सचीव गणिलाल महतो, १ का वडा अध्यक्ष उमेदवार जगदीश यादव, वाईसीएल नगर अध्यक्ष सर्फलाल यादव, वडा ५ का पार्टी संयोजक शेख महम्मद ईम्ताज आलम, लगायतले जिल्ला नेतृत्वको खुलेरै आलोचना गरिरहेका थिए । माओवादी केन्द्र रौतहटका संयोजक पटेलले फतुवा बिजयपुरको समस्या जिल्लाको बैठक बसेर समाधान गर्ने स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै