रौतहट, २२ चैत । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरका प्रमुखको कारण दुर्गा भगवती गाउँपालिकाको करिव एक हजार उपभोक्ताहरु खानेपानी पिउनबाट बंचित भएका छन् ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ स्थित गंगापिपरा खानेपानी तथा सरसफाई उपभोक्ता समिति पिपराको मुख्य मिटर जलेर नष्ट भएपछि उक्त खानेपानीकै भरमा रहेका करिव एक हजार उपभोक्ताहरु गत विहिवार विहान ९ बजे देखि खानीपानीको सुविधाबाट बञ्चित भएका हुन् ।
उपभोक्ता समितिका पदाधिकारीहरु नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौर शाखामा जाँदा पुरानो बक्यौता चुक्ता गरेपछि मात्रै नयाँ मिटर जडान गर्ने शर्त राख्दा उपभोक्ता समितिले एक लाख रुपैया जम्मा गर्दा समेत समिति माथि दुई लाख ५५ हजार रकम बाँकी रहयो ।
वितरण केन्द्र प्रमुख रामअयोध्या रायले सम्पूर्ण रकम तिरेपछि मात्रै मिटर जडान हुने अडान राख्दा खानेपानी ट्याँकी सपलाईकै भरमा रहेका करिव एक हजार उपभोक्ताहरु हिजै देखि स्वच्छ खानेपानीबाट बंचित रहुन परेको समितिका पदाधिकारीहरु बताउँछन् ।
समितिका अध्यक्ष नविन सिंहले लाभान्वित उपभोक्ताहरु कहाँ करिव ४० लाख भन्दा बढि रकम बाँकी रहेको छ । कर्मचारीलाई जेनतेन तलव खुवाइएको छ । समिति संग भएको एक लाख रुपैया जम्मा गराइयो तर सम्पूर्ण रकम तिर्ने अहिले अवस्था नरहदा किस्ता बन्दी गरेर तिन महिनामा तिरीदिन्छु भन्दा समेत वितरण केन्द्र प्रमुखले जव सम्म सम्पूर्ण रकम नतिरेमा मिटर जडान नहुने अडान लिएपछि उपभोक्ताहरु मर्कामा परेको उनले गुनासो गरे ।
मिटर जडान गराउन गाउँपालिका प्रमुख देखि लिएर प्रमुख जिल्ला अधिकारी समेतले वितरण केन्द्र प्रमुखलाई जनता संग प्रत्यक्ष जोडिएका सवाल त्यसमा पनि खानेपानी जस्तो विषयलाई गम्भिर भएर समस्या समाधान गर्न भनेपनि उनले कुनै वास्ता नगरेको हुँदा एक हजार उपभोक्ता स्वच्छ खानेपानी पिउनबाट बंचित भएको सिंहले बताए ।
यस विषयमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौर शाखाका प्रमुख रामअयोध्या रायलाई सम्पर्क गर्दा उनले मोवाइल रिसिभ गर्नुभएन । वितरण केन्द्र प्रमुख रायलाई यहाँका जनताहरु राम्रो ठानेका छैनन् । कुनै समस्या पर्दा समेत फोन उठाउदैनन, कृषकहरु मिटरका लागि धाउदा धाउदै थकित भइसकेको छ तर उनलाई कुनै फरक पर्दैनन् । वितरण केन्द्र प्रमुख रायको रवैयाको कारण रौतहटका जनताहरु आजिज भईसकेका छन् जस्तै दुर्गा भगवती एउटा उदाहरण मात्रै हो ।
चर्को गर्मीको समयमा पिल्सिएका जनताहरुलाई खानेपानी पिउनबाट बंचित गराएर ठूलो अमानविय कार्य गर्ने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरका प्रमुख राय विरुद्ध सम्बध निकायले समयमै ध्यान पुर्याउनु आवश्यक रहेको स्थानीयले आक्रोश व्यक्त गरे । दुई दिन देखि उपभोक्ताहरु खानेपानीबाट बंचित रहदा समेत गाउँपालिकाबाट यथोचित रुपमा मिटर जडान तर्फ पहल नभएको कारण पनि समस्या बढेको आरोप उपभोक्ताहरुले लगाए