थाइल्याण्डमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता नेपाल–भारत सम्बन्धमा नयाँ ऊर्जा थप्ने दिशामा अघि बढेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीच संवादको माध्यमबाट साना–ठूला जटिलता समाधान गर्ने गहिरो समझदारी बनेको जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीले थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागिता जनाइसकेपछि शनिबार स्वदेश फर्के लगत्तै पत्रकार सम्मेलन गरेका थिए। भारतीय समकक्षीसँगको एक्लाएक्लै र संयुक्त भेटलाई ‘फलदायी’ भन्दै प्रधानमन्त्री ओलीले सम्बन्धलाई अझ सुदृढ र व्यावसायिक बनाउने विषयमा छलफल भएको उल्लेख गरे।
‘छिमेकीबीच कहिलेकाहीँ सानातिना समस्या देखिन सक्छ, तर ती समस्या संवादमार्फतै समाधान गर्ने गहिरो समझदारी हामीबीच बनेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘भेटघाट फलदायी भयो, म खुसी छु र उहाँ ९मोदी० पनि खुसी भएको महसुस मैले गरेको छु।’
प्रधानमन्त्री ओलीका अनुसार भेटवार्तामा लगानी, व्यापार, बहुउद्देश्यीय पञ्चेश्वर आयोजना, दोधरा–चाँदनीमा महाकाली नदीको सिँचाइ लगायतका विषयमा विस्तृत छलफल भएको थियो। यी सबै विषयहरू दुई देशको पारस्परिक हितसँग जोडिएका महत्वपूर्ण एजेन्डा हुन्।
यसैबीच, प्रधानमन्त्री ओलीले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी उपस्थित हुन नसक्ने स्पष्ट गरे। तर, भारतले उक्त कार्यक्रममा उच्चस्तरीय प्रतिनिधित्व गर्ने जानकारी दिइएको छ। ‘मोदीजी पहिले नै तय भएको युरोप भ्रमणमा जानुहुने भएकाले सगरमाथा संवादमा आउन भ्याउनुहुन्न, तर भारतको राम्रै स्तरबाट सहभागिता हुनेछ,’ प्रधानमन्त्री ओलीले जानकारी दिए।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन